
१८ असार,
क्यानाडा भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले अभ्यास खेलमा ओन्टारियो क्रिकेट क्लबलाई पराजित गरेको छ। गएराति राति भएको खेलमा नेपालले ओन्टारियोलाई ६९ रनले हराएको हो।
नेपालले दिएको २ सय २१ रनको लक्ष्य पछ्याएको ओन्टारियोले ४२ ओभर ५ बलमा अलआउट हुँदै १ सय ५१ रन बनाउन सक्यो। ओन्टारियोका रियाजखान पठानले ३६ रन बनाउँदा कप्तान नरेश बुढाऐरले २९ रन जोडे। यस्तै निकोलस मनोहरले २५ तथा जश शाहले २० रन बनाए।



नेपालका पवन सरार्फले ३ विकेट लिए। दीपेन्द्रसिंह ऐरी, आरिफ शेख र किशोर महतोले २२ विकेट लिए।
त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय २० रन बनाएको थियो। नेपालका लागि विनोद भण्डारीले ५७ रनको अर्धशतकीय इनिङ खेले।
क्यानडासँगको सिरिज अघि नेपालले अभ्यास खेल खेलेको हो। अब नेपालले क्यानडाको राष्ट्रिय टोलीसँग दुई खेलको एकदिवसीय सिरिज खेल्नेछ। नेपाल र क्यानडाबीचको पहिलो एकदिवसीय जुलाई ४ र दोस्रो एकदिवसीय जुलाई ५ मा हुनेछ।
त्यसपछि नेपालले स्कटल्याण्डमा विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नेछ। रासस