
१९ भदौ,
नेपालमा जातीय विभेद हटेको घोषणा भएको जुगौँ भइसक्यो तर पनि यो समाजमा अझैसम्म जरा गाडेकै छ । पछिल्ला केही घटनाहरूलाई नियाल्ने हो, भने जातीय विभेदको अन्त्य केवल घोषणा र घोषणापत्रमा मात्र सीमित रहेको पाईन्छ। यसरि नै एउटा विभेदको सिकार भएका थिए, युवा व्यवसायी सुमन मंग्राती ।
उनी अहिले पनि स्मरण गर्छन्, त्यी पल । जुन पल उनलाई एउटा फिल्मको कथाभन्दा कम लाग्दैनन् । अन्तरजातीय विवाह गरेका कारण दुई परिवारबिचको टकराबको अनुभव सँगालेका सुमन लामो समयसम्म ससुराली जान पाएका थिएनन् । २०७१ सालमा उनले खतिवडा थरकी युवतीसँग विवाह गरेका थिए । तर उनलाई ससुरालीले ज्वाइँलाई स्विकार गरेनन् ।



सुमन लामो समयसम्म ससुराली जान नपाएका उनले लकडाउन अवधिमै एउटा क्याफे हाउस सञ्चालन गर्ने सोच बनाए क्याफे हाउसको नाम “ससुराली क्याफे” राख्ने निधो गरे, जसमा मित्र रञ्जित अग्रवालले साथ दिएकी छन् । अहिले ससुराली क्याफेका सञ्चालक विराटनगर–४ का ३० वर्षीय सुमन मग्राती र ५५ वर्षीय रञ्जित अग्रवाल हुन् ।
फरक नाम र फरक अवधारणासहित असार २५ गतेदेखि विराटनगर–७ स्थित हनुमानदास रोडनजिकै ४० लाखको संयुक्त लगानीमा ससुराली क्याफे सञ्चालन गरिएको छ । नामका कारण महिना दिन नबित्दै राम्रो चर्चा बटुलेको उक्त क्याफेले युवाहरूलाई आकर्षित गरिरहेको छ ।
चिया, खाजा, खान ‘ससुराली’ जान रुचाउने युवाहरूको सङ्ख्या दिनदिनै बढ्दो क्रममा देखिन्छ । हाल विराटनगरमा सञ्चालित क्याफे हाउसमध्ये सबैभन्दा बढी ग्राहकको भिड हुने ठाउँ हो– ससुराली क्याफे । करिब एक कठ्ठा क्षेत्रफलमा फैलिएको उक्त क्याफे हाउस बबल–टी, सेलरोटी, रायतासहितको ससुराली खाजाका लागि प्रख्यात छ । नामकै कारण उक्त क्याफे हाउसप्रति युवाहरूको आकर्षण बेग्लै छ ।
अन्तरजातीय विवाह गरेका सुमनले जातीय विभेदका कारण ससुराली घर जान नपाएका कारण न्यास्रो मेटाउन क्याफेको नाम “ससुराली क्याफे” राखेका हुन् । हाल ससुराली क्याफे एन्ड रेस्ट्रोमा पिज्जा, बर्र्गर, मःमः, चाउमिन, चिया, कफी, चिली आइटम, कट्टी–रोललगायत फास्ट–फुड आइटम पाइन्छन् ।
सञ्चालक सुमनका अनुसार क्याफेले तीन कुकसहित ११ जनालाई प्रत्यक्ष रोजगारी दिइरहेको छ भने दैनिक २० हजार रुपैयाँभन्दा बढीको कारोबार गरिरहेको छ । विशेषगरी बजारमा कतै बसेर एक छिन कुराकानी गर्ने ठाउँको खाँचोसमेत अनुभव हुँदै गएको अवस्थामा ससुराली क्याफेले त्यस्तो अप्ठेरोलाई सम्बोधन गरेको ससुराली क्याफेका सञ्चालक सुमनले बताएका छन् ।
उनले बैकिङ क्षेत्रका कर्मचारी र मध्यम वर्गीय परिवारलाई लक्षित गरेर क्याफे सञ्चालनमा ल्याइएको जानकारी दिए । ‘ठुलो होटेलमा जाउँ महङ्गो पर्छ । सानो होटेलमा जाउँ चित्त बुझ्दैन,’ उनले भने, ‘त्यही बिचको अवस्थालाई सम्बोधन गर्न हामीले ससुराली क्याफे सञ्चालनमा ल्याएको बताए ।
स्रोत : NewsNepalDainik