
१९ कात्तिक,
दीपावली झिलीमिलीको पर्व हो । उज्यालो कसलाई पो मन पर्दैन र । तर, २०४६ सालको आन्दोलनपछि विभिन्न जनजातिमा दसैँ बहिष्कार प्रकरणसँगै दीपावलीमा पनि ग्रहण लाग्यो । खासगरी पूर्वी क्षेत्रका किरात अगुवाहरुले हिन्दूकेन्द्रित चाडपर्व आफ्नो नभएको तर्क अघि सारेपछि यस्ता चाडपर्व मनाउने–नमनाउने दुई धार देखिएका हुन् ।
नेपाल बहुजातीय, बहुधार्मिक अनि बहुसाँस्कृतिक देश हो । त्यसैले यहाँ सबै जातजाति र समुदायका आ–आफ्नै विशिष्ट चाडपर्वहरु छन् । यी चाडपर्वमा एकले अर्कालाई सम्मान र आत्मसात गर्ने सहअस्थित्वको भाव पछिल्लो समयमा विकसित हुन थालेको छ । समय क्रमसँगै दीपावली पनि सबै जातजातिको साझा चाड बन्न थालेको छ ।



यति हुँदाहुँदै पनि हिन्दु आर्य समुदायमा दीपावलीको जुन धार्मिक महत्व छ, आदिवासी जनजाति समुदायमा भने यसलाई बेग्लै किसिमले लिने गरिएको पाइन्छ ।
मगर, राईहरुको समुदायमा तिहार यसरि मनाईन्छ
मगर समुदायका जानकार लेखक टीकाराम उदासीका अनुसार मगर समुदायहरु तिहारमा निकै रमाउँछन् । तिहारमा तोरण टाँगेर गाउँघर सजाइएको हुन्छ । तिहारमा नाचिने मारुनी, पैसेरु नाचले मगर गाउँ गुञ्जायमान हुन्छ । एक गाउँबाट अर्को गाउँको नाच साटासाट हुन्छ, यसलाई भैलो ख्वाउने भन्छन् । भैलो ख्वाउँदा जाँडरक्सीका साथ राँगा काटेर, सेल रोटी टक्र्याएर नाच टोलीलाई भव्य खानपिनका साथ स्वागत गर्ने चलन छ ।
लक्ष्मी पूजाका दिन बिहान गाई, गोरुको पूजा गरेर तिनलाई पानीमा नुन, पिठो हालेर ख्वाइन्छ । भाइटीका लगाउने चलन पनि छ तिहारमा । दाजुभाइ टीकाको दिन आउन नसके उनीहरुको माला, टीका छुट्याएर राखिएको हुन्छ ।
मगर समुदायले तिहारको भैलीको उत्पत्ति आफ्नै समुदायबाट भएको तर्क गर्दै आएका छन् । पाल्पाका राजा बलिहाङलाई लिन काल आउने भएपछि उनले प्रजाहरूसँग सबैतिर बत्ती बालेर ‘फाइलो’ अर्थात बाँचियो भनेर गाउँदै बस्नु भनेको र त्यस्तो दृश्य देखेर काल पनि फर्केर गएको कथा मनोज घर्ती मगर उल्लेख गर्छन् ।
बान्तवा भाषाको मासिक पत्रिकाका सम्पादक पदम राईका अनुसार राई जातिमा दसैँ बहिष्कारको कुरा उठे पनि तिहार भने दिल खोलेर नै मनाइन्छ । कोरोना कहरले देउसी भैलो बन्द छ । तर, अरु वर्ष राई गाउँहरुमा देउसी भैलो खेलिन्छ । दीयो बालेर लक्ष्मी पूजा गरिन्छ ।
डा. भक्त राई भन्छन्, ‘तिहारमा खेलिने देउसी–भैली यहाँका रैथाने जातिबाटै सुरु भएको र पछि खस–आर्यको आगमनपछि सामाजिक, सांस्कृतिक अन्तर्घुलन भई तिहारमा कुकुर, गोरु, गाई र लक्ष्मीको पूजा गर्ने प्रचलन थपिएको हो ।’ उनको विचारमा नेपाली साझा संस्कृतिका रूपमा तिहारले स्थान बनाइसकेकाले यसलाई अंगीकार गर्नुको विकल्प छैन । रातोपाटिबाट साभार