
१४ फागुन,
केही वर्षयता सामाजिक सञ्जाल टिकटकले नेपालीहरुमा छुट्टै प्रकारको जादू नै चलाएको छ । सुरु–सुरुमा युवापुस्तालाई आकर्षित गरेको टिकटकले अहिले हरेक उमेर समूहलाई लठ्याएको छ । यसमा बौद्धिक जमात पनि रमाउन थालेको छ ।
मनोरञ्जनको माध्यम मात्रै होइन, महत्वपूर्ण घटनाका भिडियो समेत सबैभन्दा पहिले टिकटकमा भेटिन्छ । त्यसैले टिकटकले बालबालिकादेखि बुढापाकासमेतलाई समेटेको छ । यो कसैको एक्लोपनको साथी भएको छ भने कसैको लुकेको प्रतिभा देखाउन माध्यम पनि भएको छ।
१५ सेकेन्डको भिडियो बनाएर टिकटकमा हाल्दा लाखौं–करोडौं रुपैयाँको विज्ञापनको माध्यम समेत बनेको छ । टिकटकमार्फत चर्चामा आएका कतिपयले करिअर नै परिवर्तन गरेका छन् । हिजोआज गीत–संगीतको प्रचारप्रसार गर्ने माध्यम पनि टिकटक बनेको छ । कलादेखि गला र नृत्यदेखि अभिनयको भोक मेटाउने भरपर्दो माध्यम समेत टिकटक बनेको छ ।
टिकटकका फाइदाहरूको कुरा गर्दा यो आफ्नो प्रतिभा देखाउन सक्ने राम्रो प्लेटफर्म हो । मानिसहरूको भित्र दबिएको संवेग र कुण्ठा बाहिर ल्याउने माध्यम पनि हो । दबिएको संवेग र कुण्ठा बाहिर निक्लिएपछि मानिसहरु चिन्तामुक्त हुन्छन् र उनीहरूमा मानसिक समस्या देखिने सम्भावना पनि कम हुन्छ ।
आत्मविश्वास बढाएको छ
टिकटकले धेरै व्यक्तिको आत्मविश्वास बढाएको छ । आफूलाई मन लागेको कुरा खुलस्त भन्न सक्ने, आफूमा भएको प्रतिभा खुलेर देखाउन सक्ने आत्मविश्वास टिकटकले दिएको छ ।
बाटोमा वा पार्कमा धेरै मान्छेका अगाडि पनि टिकटक एप खोलेर अभिनय गर्न सक्ने, नाच्न सक्ने, गाउन सक्ने आत्मविश्वास टिकटकले दिएको छ।
रमाउने मेलो बनेको छ:
टिकटक एउटा मनोरञ्जनको माध्यम पनि हो। ‘दिनभरि काममा व्यस्त भएर घर फर्केपछि फुर्सदको समयमा टिकटक भिडियो बनाएर तथा अरूको भिडियो हेरेर मान्छेहरू रमाउने गर्छन् । यसले मानिसलाई चिन्ता मुक्त बनाएको छ।
कला र शिल्प उजागर गरेको छ:
अहिले धेरै व्यक्तिले टिकटकलाई आफ्नो कला शिल्प उजागर गर्ने माध्यम पनि बनाएका छन् । केहीले आफ्नो अभिनय कला त केहीले आफ्नो पाककला टिकटकमार्फत उजागर गरिरहेका छन् । आफूसँग भएको जुनसुकै कला यसमा प्रदर्शन गर्न सकिने भएको छ।
‘कसैलाई राम्रो गाउन आउँछ भने गाएको भिडियो हाल्न सक्छन् । कुनै प्रतिभा छ र त्यसलाई संसारसँग उजागर गर्न चाहन्छन् भने प्रतिभा झल्किने टिकटक भिडियो बनाएर पोस्ट गर्न सकिन्छ । यसो गर्दा कला शिल्प उजागर हुन्छ र विभिन्न अवसर पनि पाइने एउटा माध्यम भएको छ।
एकअर्काप्रति सद्भाव बढाएको छ:
खेतीकिसानी गर्ने किसानको भिडियोलाई पनि टिकटकमा उत्ति नै माया गरिन्छ, जति एक मोडलले नाचेर बनाएको भिडियो रुचाइन्छ । टिकटकमार्फत मान्छेले एकअर्काप्रति सद्भाव देखाएका छन् भन्दा हुन्छ । कसैलाई आर्थिक संकट छ भने उसलाई सहायता जुटाउने माध्यम पनि टिकटक बन्न थालेको छ ।
एक्लोपनको साथी बनेको छ:
अहिले समाज संयुक्त परिवारबाट एकल परिवारमा ढल्किएको छ । घरका तीन–चार जना सदस्यमध्ये पनि युवा विदेशिएका छन् भने कोही काममा व्यस्त छन् । घरमा वृद्धवृद्धा एक्लै बस्न बाध्य छन् ।
‘टिकटक भिडियो बनाएर तथा टिकटकमा भर्चुअल साथीहरूसँग मनको कुरा साटेर पनि धेरैले एक्लोपनबाट छुटकारा पाएका छन्।
समाजको मनोविज्ञान बुझ्न सघाएको छ:
समाजमा मानिसहरुको सोच कस्तो छ ? कस्तो कुरालाई रुचाइरहेका छन्, कस्तो रुचाउँदैनन् ? भन्ने बुझ्ने माध्यम पनि टिकटक बनेको छ । त्यसैले टिकटकले सामाजिक मनोविज्ञान बुझ्ने मौका पनि टिकटकले दिएको छ।
सँगै विकृति पनि
हरेक कुराको राम्रो र नराम्रो दुईवटा पाटो हुन्छ । टिकटकको पनि सकारात्मककसँगै नकारात्मक पाटो पनि भेटिन्छ । केही प्रतिशत व्यक्तिले टिकटकलाई आफ्नो प्रतिभा उजागर गर्ने माध्यम बनाएका छन् । तर धेरैले टिकटकमा घण्टौं समय बिताएर उत्पादनशील समयलाई बर्बाद पनि गरिरहेका छन्। ‘टिकटक प्रयोगकर्तामध्ये पाँच प्रतिशतले यसको सही उपयोग गरिरहेका छन् भने ९५ प्रतिशत मान्छे भने यसमा अलमलिरहेका छन्।
सुमित्रा लुइटेल/अनलाईनखबरबाट