
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको विकास गर्ने पार्टी एमाले मात्रै रहेको बताएका छन्। खोटाङको सदरमुकामस्थित दिक्तेलमा शनिबार एक कार्यक्रमका बिच सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्।
वृद्धवृद्धादेखि केटाकेटीसम्मको संरक्षण र देशको विकास एमालेले मात्र गर्न सक्ने ओलीको दावी छ। अध्यक्ष ओलीले भने, ‘नेपालमा सामाजिक सुरक्षा भत्ता दिन नेकपा एमालेले शुरु गरेको हो, कर्मचारीको तलब बढाउने, नयाँ विकासका अवधारणा अघि सार्ने, जनता र गरिब सम्झने पार्टी भनेको एमाले मात्रै हो।’



अध्यक्ष ओलीका अनुसार, देशैभरी एमालेमा जनताको लहर रहेको कारण एमाले पुनः सरकारमा जाने र समृद्ध नेपाल निर्माण गर्ने उनको दावी छ।
समृद्ध नेपाल निर्माण गर्दैगर्दा अब सरकार सधैं एमालेले मात्र बनाउने भयो भनेर विरोधीले जालझेल गरेर सरकारबाट आफूलाई हटाएको उनको भनाई रहेको छ।
अध्यक्ष ओली हेलिकप्टर चढेर सवा १२ बजे खोटाङको हलेसीमा पत्नी राधिका शाक्यसहित मन्दिरको दर्शन गरेर दर्शनपछि पत्रकार सम्मेलनमा हलेसीको विकासका लागि गुरु योजना आफ्नो कार्यकालमा निर्माण गरिएको र अब त्यसको कार्यान्वयनका लागि पनि एमालेले सहयोग गर्ने उनले बताए। हलेसी मन्दिर व्यवस्थापन एवं प्रवर्धनका लागि परिवारका तर्फबाट अध्यक्ष ओलीले दुई लाख नगद समेत सहयोग गरेका छन्।
हलेसीबाट सदरमुकाम दिक्तेल जनसभालाई सम्बोधन गर्न गएका ओली मौसम खराबीका कारण छोटो समय सम्बोधन गरेर काठमाडौँ फर्किएका छन्। रासस