
२४ फागुन,
दाङ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वास्थ्यकर्मीहरूलाई उच्च मनोबलका साथ जनसेवामा समर्पित हुन आग्रह गरेका छन् ।
मुख्यमन्त्री आचार्यले राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल, लुम्बिनी प्रदेश समितिको दोस्रो अधिवेशन उद्घाटन समारोहलाई शनिबार लमहीमा सम्बोधन गर्दै उनले नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सरकार प्रतिबद्ध भएको बताएका छन् ।



प्रदेश सरकारले ऐन, नीति, नियममार्फत कर्मचारीको वृत्तिविकासको ढोका खोलेको उल्लेख गर्दै आचार्यले सरकार कुनै पनि पेसाकर्मीलाई निरुत्साहित नगर्ने, बरु प्रोत्साहित गर्दै अघि बढ्ने बताए ।
उनले सामाजिक न्याय र पेसागत मर्यादाका लागि स्वास्थ्यकर्मीहरू एकजुट हुनुपर्ने आवश्यकता औंल्याए ।
उनले नियमावलीबारे ट्रेड युनियन प्रतिनिधिहरूसँग छलफल भइरहेको जानकारी दिँदै नियमावली भावनाभन्दा बाहिर नजाने, बरु कर्मचारीको मनोबल उच्च बनाउन र व्यावसायिक विकासलाई अघि बढाउन टेवा पुग्ने गरी तयार गरिने बताए । साथै प्रदेश सरकार स्वास्थ्यकर्मीहरूको हक, हित तथा वृत्तिविकासका लागि प्रतिबद्ध रहेको बताए ।