३ भदौ,
बुटवल : बुटवलमा रहेको नेपालमै पहिलोपटक उत्पादन सुरु भएको तिलोत्तमा मंगोलियाको बेल्चा उद्योग संकटमा परेको छ । भारतबाट आयातित बेल्चासँग मूल्यमा प्रतिस्पर्धा गर्न नसकेपछि उक्त उद्योग संकटमा परेको उद्योगका सञ्चालक महेश थैवले बताएका छन्।
महेशले कोराना महामारीका बेलामा लक्ष्मी स्टिल उद्योगबाट १५ करोड रुपैयाँमा नेपालमै पहिलो पटक बेल्चा उत्पादन सुरु गरेका थिए । तर, अहिले सरकारले बेल्चा बनाउन प्रयोग हुने कच्चा पदार्थ आयातमा चर्को भन्सार लगाएपछि बेल्चा उद्योग मारमा परेको उनको दाबी छ ।
प्रति १२ घण्टामा एक हजार थान बेल्चा उत्पादन क्षमताको मेसिन जडान भएसँगै ३० हजार थान बेल्चा उत्पादन भएको थियो । चिनियाँ प्रविधिबाट बनेकाले भारतबाट आयात हुने भन्दा प्रयोग गर्न हलुका र हेर्दा राम्रो फिनिसिङका कारण उपभोक्ताले रुचाएको महेशले बताए ।
अहिले भारतीय बेल्चाभन्दा महंगो पर्न गएपछि नेपालमै उत्पादित बेल्चा गोदाममै थन्किएका छन्, उद्योगले उत्पादन पनि बन्द गरेको छ ।
उद्योगका सञ्चालक महेश थैवले नेपालमा बेल्चा बनाउने उद्योग अरु नभएकाले आयात प्रतिस्थापित गरी बेल्चासँगै गैंटीमा देशलाई आत्मनिर्भर बनाउने उद्देश्यले लगानी गरेपनि चर्को भन्सार दरका कारण उद्योग संकटमा परेको र बन्द गर्नुपर्ने अवस्थामा पुगेको बताए । यो समाचार आजको अनलाईनखबर मा छ।