३० असार,
काठमाडौं : सरकारले भारतबाट चामल आयात गर्न २० वटा फर्मलाई अनुमति दिएको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार भारतबाट तोकिएको कोटा बमोजिमको चामल आयात गर्न इच्छुक फर्म तथा कम्पनीसँग ११ असारमा सार्वजनिक सूचना जारी गरिएको थियो ।
त्यसमध्ये २८ फर्म तथा कम्पनीले आवेदन दिएका थिए । आवेदन दिएकामध्ये २० फर्म र कम्पनीको आवेदन स्वीकृत भएको विभागले जनाएको छ । विभागले स्वीकृत फर्म र कम्पनीलाई सम्पर्कमा आउन समेत भनेको छ ।
विभागका अनुसार सबैभन्दा धेरै बाराको अम्बे किराना भण्डारले ५ हजार ७ सय ६९ टन र सबैभन्दा कम विराटनगरका प्रणाम टे«डर्स र विशाल ट्रेडर्सले ३ सय ८५ टन चामल आयात गर्ने अनुमति पाएका छन् ।
त्यसैगरी भारतबाट कच्चापदार्थका रूपमा नेपालमा चिनी आयात गर्न १० उद्योगले अनुमति पाएका छन् ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार भारतबाट नेपाललाई चिनी आयातका लागि तोकिएको कोटा बमोजिम चिनी औद्योगिक कच्चा पदार्थका रूपमा प्रयोग गर्ने गरी आयात गर्न इच्छुक उद्योगीसँग आवेदन मागिएको थियो । त्यसमधये १० उद्योगले अनुमति पाएका छन् । यसरी अनुमति पाउने अधिकांश खाद्य उद्योग हुन् ।
मन्त्रालयका अनुसार ललितपुरको एग्रो थाइ फुड र सुनसरीका गुडलाइफ वेभरेज, एसियन बिस्कुट एन्ड कन्फेक्सनरी, क्वालिटी फुड नेपाल प्रालि, क्वालिटी फुड एन्ड स्न्याक्स इन्डस्ट्रिज प्रालि, क्वालिटी कन्फेक्सरी प्रालि र क्वालिटी डाइट एन्ड फुड प्रोडक्सन प्रालिले चिनी आयात गर्ने अनुमति पाएका हुन् ।
त्यस्तै विराटनगरको शिवम डेरी एन्ड फुड इन्ड्रस्ट्रिज प्रालि, झापाको केआरएस भेन्चर्स र पोखराको सुजल फुड्सले चिनी आयात गर्ने अनुमति पाएको मन्त्रालयले जनाएको छ । उद्योग विभागले यी उद्योगलाई यथाशीघ्र विभागमा सम्पर्क गर्न समेत भनेको छ ।