१४ वैशाख,
बाँकेका विभिन्न सामुदायिक वनमा लागेको डढेलोका कारण वनमा रहेका खरायो, सर्प र विभिन्न प्रजातिका चरा मरेको अवस्थामा फेला परेका छन् ।
राप्तीसोनारी गाउँपालिका–६ को सामुदायिक वनमा खरायो, सर्प र विभिन्न प्रजातिका चरा मरेको अवस्थामा फेला परेको शम्शेरगञ्ज सबडिभिजन कार्यालय, बाँकेका वन अधिकृत सुशील सुवेदीले जानकारी दिए । तर कति सङ्ख्यामा मरे भन्ने विषयमा विवरण सङ्कलन भइरहेको उनको भनाइ छ ।
बाँकेको करीब २५ वटा सामुदायिक वनमा लागेको डढेलोका कारण मानवीय क्षति नभए पनि जीवजन्तु केही मरेको र सङ्कटमा रहेका छन् ।
वन अधिकृत सुवेदीले डढेलो अहिले नियन्त्रणमा आएको उल्लेख गर्दै फाटफुट केही स्थानमा डढेलो रहेको बताए ।
बाँके राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत मनोजकुमार शाहले गाउँघरबाट भएको बदमासीका कारण निकुञ्जमा डढेलो लागेको उल्लेख गर्दै डढेलोका कारण विभिन्न प्रजातिका चरा र केही प्रजातिका बच्चा र अण्डा नष्ट भएको जानकारी दिए ।