२० वैशाख,
बाँके : बाँकेको खजुरा गाउँपालिकाको बजारमा निर्माणाधीन चार लेन सडक तीनपटक सम्म म्याद थप्दा पनि सम्पन्न हुन सकेको छैन।

२०७४ चैतमा गजुरमुखी कन्स्ट्रक्सन कम्पनी, इलामले निर्माण सुरु गरेको थियो । खजुरा बजारमा एक हजार ८०० मिटर लम्बाइको चारलेन सडक २०७७ चैतमा निर्माण सम्पन्न गर्नुपर्ने थियो। तर हालसम्म तीनपटक म्याद थप भए पनि काम सन्तोषजनकरूपमा अघि बढ्न नसकेको सडक डिभिजन कार्यालय नेपालगञ्जका डिभिजन प्रमुख इञ्जिनियर नीरज शाक्यले जानकारी दिए।

प्रमुख इञ्जिनियर नीरज शाक्यका अनुसार, ‘सम्झौता गरे अनुसार प्रतिदिन ०.०५ प्रतिशतका दरले हर्जाना लगाएर काम शुरु भए पनि सन्तोषजनकरूपमा निर्माण कार्य अघि नबढेको उनले बताएका छन् । सुरुआतमा बिजुलीका पोल तथा खानेपानीको पाइप सार्ने, रुख तथा सडकखण्डमा पर्ने संरचना, कोभिड–१९ का कारण कामले गति लिन नसके पनि पछिल्लो समय भने निर्माण कम्पनीको लापरवाही देखिएको छ, ‘उनले भने’

सडक डिभिजन कार्यालय नेपालगञ्जले पटक–पटक म्याद थप हुँदासमेत काम सम्पन्न नगरेपछि अन्तिमपटकका लागि भन्दै हर्जाना तिराएर चैत सुरुदेखि निर्माण कम्पनीलाई सडक निर्माणको अनुमति दिएको थियो। दैनिक हर्जाना लगाएर काम सुरु गराउँदा पनि निर्माण कम्पनीले सडक निर्माणका लागि बारम्बार आलटाल गरेपछि ठेक्का सम्झौता तोड्ने प्रक्रिया सुरु गरेको शाक्यले बताए। काम सन्तोषजनकरूपमा अघि नबढेपछि पछिल्लो समय पेश्कीस्वरूप उपलब्ध गराइएको रकमसमेत बैंकबाट फिर्ता ल्याइएको उनको भनाइ छ।

बाँकेको खजुरा बजारमा एक हजार ८०० मिटर र बर्दियाको गुलरियामा दुई हजार २०० मिटर लम्बाइको सडक निर्माणका लागि २१ करोड ४९ लाखमा सम्झौता भएको थियो। निर्माण कम्पनीले निर्माणकार्यमा ढिलाइ गर्दा यात्रुलाई सास्ती भएकाले ठेक्का तोड्नका लागि प्रक्रिया अघि बढाइएको शाक्यले बताए। सडक निर्माण अलपत्र पारेपछि खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विकले सडक डिभिजन कार्यालयलाई ठेक्का सम्झौता तोड्न आग्रह गरेका थिए।

सडक निर्माणका लागि पटक–पटक ताकेता गर्दा पनि काम शुरु नभएपछि सरोकारवाला निकाय सडक डिभिजनलाई ठेक्का सम्झौता तोडेर अन्य प्रक्रियाबाट सडक निर्माणका लागि पहल गरिदिन आग्रह गरिएको छ । साथै सडक निर्माण अलपत्र पारेपछि स्थानीयहरुले प्रश्न माथी प्रश्न गरिरहेको अध्यक्ष विकले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय