१७ वैशाख,
डोल्पामा प्रहरी इन्स्पेक्टर नबिनले हवल्दार हरिलाई कुट्दा नाक र मुखमा गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोल्पामा कार्यरत प्रहरी निरीक्षक नविन चापागाईंले प्रहरी हवल्दार हरि आरसी माथि कुटपिट गरेका हुन् ।

सल्यानको शिद्धकुमाख गाउँपालिका वडा नम्बर ३ स्थायी घर भएका ३७ वर्षीय हरि आरसीको बायाँ आँखा, नाक र मुखमा गहिरो चोट लागेको छ। हवल्दार आरसी जिल्ला कारागार डोल्पामा कार्यरत छन्।

यो घटना शनिबार बिहान करिब ११ बजेको हो । प्रहरी हवल्दार आरसी बिदामा थिए। उनले बिदाको दिन आफूले साथीहरूसँग मिलेर मादक पदार्थ सेवन गरेको भन्दै जिल्ला प्रहरी कार्यालयभित्रै बोलाएर प्रहरी निरीक्षक चापागाईंले कुटपिट गरेको बताए ।

प्रहरी हवल्दार आरसीको जिल्ला अस्पताल डोल्पामा सामान्य उपचार गरिएको छ। थप उपचारका लागि आइतबार उनी बाँकेको नेपालगन्ज जाने तयारीमा छन्। ‘आँखाको उपचारका लागि म नेपालगन्ज जानुपर्ने भयो,’ उनले भने।

म प्रहरी कार्यालय गएँ। एकाएक इन्स्पेक्टरसाबले कुट्नुभयो। मैले माफी मागे पनि उहाँले कुट्नुभयो,’ उनले भने। बिदाको दिनमा मापसे गरेको र हो,हल्लासमेत नगरेको उनको भनाइ छ। ‘यदि मैले गल्ती नै गरेको थिएँ भने पनि मलाई सांगठनिक कारबाही गरिनुपर्थ्यो,’ उनले भने। जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब उपरीक्षक बुढाथोकीले भने आफू कार्यालयभन्दा बाहिर रहेको बेला घटना घटेकोले यसबारे अनुसन्धान भइरहेको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय