१४ फागुन,
काठमाडौं : पाँचथरको फिदिम नगरपालिका–७ मा रहेको श्री रानीटार मा.वि. ले विद्यालयकै लगानीमा विभिन्न जातजातिका विद्यार्थीहरुलाई पोसाकहरु उपलब्ध गराएको छ। सम्मान तथा छात्रवृत्ति वितरण समारोहमा विभिन्न संस्कृति झल्काउने प्रस्तुतिका क्रममा विद्यार्थीहरूले आ-आफ्नो जातजातिका परम्परागत पोशाकमा आधारित सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए ।

उक्त विद्यालयका प्रधानाध्यापक भक्तबहादुर राईका अनुसार विद्यार्थी तथा शिक्षकले सोमबार र बिहीबार सम्बन्धित जातजातिमा आधारित परम्परागत पोशाक अनिवार्य लगाएर आउनुपर्ने नियम बनाइएको बताएका छन्।

विभिन्न जातजातिको परम्परागत संस्कृतिमा आधारित पोशाकमा सजिएका लामबद्ध भएर विद्यालयका विद्यार्थीहरू भेटिन्छन् । विद्यार्थीहरूले उक्त कार्यक्रममा साकेला, सेलो, संगीनी, केलाङ, मगर, गुरुङ संस्कृतिमा आधारित नृत्य प्रस्तुत गरेका थिए । यतिमात्र होइन, परम्परागत सांस्कृतिक पोशाकमा सजिएर विभिन्न सांस्कृतिक प्रस्तुति राखेका थिए । उनीहरूलाई नृत्यलगायतका सांस्कृतिक प्रस्तुति विद्यालयमै सिकाइएको राईले जानकारी दिए ।

विद्यालयको सेवा क्षेत्रमा लिम्बु, बाहुन, क्षेत्री, राई, गुरुङ, तामाङ, शेर्पालगायतका जातजातिको बढी बसोबास रहेको छ । परम्परागत संस्कृतिक पुस्तान्तरण तथा विद्यालय स्तरबाटै संस्कृति संरक्षणमा जोड दिइएको राईले जानकारी दिए । त्यसो त पोशाकले अभिभावकलाई भार परेको भन्ने कुरा पनि उठेका थिए ।

सांस्कृतिक पोशाक किन्न नसक्ने परिवारका विद्यार्थीलाई सहयोग पनि गरिएको राईले बताए । परम्परागत संस्कृतिलाई पुस्तान्तरण तथा विद्यार्थीलाई ज्ञान वृद्धि गर्न खोजिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टंक गुरुङले बताए । विद्यालयमा घरेलु प्रयोजनका पुराना सामग्रीसमेत संग्रहित गरेर राखिएको छ ।

‘मिनी संग्रहालय’ भनेर विगतमा प्रयोगमा आएका तर अहिले हराउँदै गएका सामग्रीसमेत राखिएको छ । बाँस र काठका पुराना सामग्री तथा पोशाकसमेत राखिएको छ । घरेलु प्रयोगका सामग्री बढी रहेका छन् ।

शिलापत्रबाट/गिरिराज बाँसकोटा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय