२७ माघ,
बाँके : बाँकेको बालसुधार गृहमा बुधवार कानुनी विवादमा परेर सुधारगृहभित्र राखिएकाहरुले आफै बस्ने भवनमा आगजनी र तोडफोड गरेको बाँके प्रहरीले जनाएको छ ।
सुधारगृहमा रहेका केहीलाई काठमाडौं स्थानान्तरण गर्न थालेकोभन्दै उनीहरुले तोडफोड र आगजनी गरेका हुन् । बालसुधार गृहमा हतियारसहित प्रवेश गर्न कठिनाइ भएकाले अवस्था नियन्त्रणमा आउन नसकेको बाँके प्रहरी जनाएको छ।
प्रहरीले नेपालगन्जबाट दमकल मगाएर आगो नियन्त्रणमा लिने प्रयास गरे पनि नियन्त्रणमा लिएलगत्तै आफै सुत्ने सिरक डसनामा आगजनी गर्ने कार्य जारी राखेको प्रहरीले जनाएको छ । आज तोडफोड भएको ब्लकमा कानुनी विवादमा परेका करिब ७० जना आश्रित बालबालिका छन् । सुधारगृहको तीन वटा भवनमध्ये पुरानो भवनमा आगजनी र तोडफोड भएको हो ।
सुधारगृहमा कुल २ सय २३ जना आश्रित रहेका छन् । उनीहरुबीच पछिल्लो एक महिनामा ४ पटक ग्यांङ फाईट भएपछि केहीलाई काठमाडौं स्थानान्तरण गर्ने तयारी गरिएको थियो । यो खबर शिलापत्रमा रहेको छ।