२६ पुस,
बाँके : सरकारले पृथ्वी जयन्तीको दिन भोलि पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
उक्त बैठकले न्यूनतम कार्यक्रम मन्त्रिपरिषद्बाट पास गर्ने र कार्यान्वयन गर्ने निर्णय गरेको छ। सत्ता साझेदार दल राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले राख्दै आएको मागलाई सम्बोधन गर्दै सरकारले २७ पुसमा बिदा दिने निर्णय गरेको विभागीयमन्त्री राजेन्द्र राईले जानकारी दिए।
तर सरकारले दिएको सार्वजनिक बिदाको निर्णयप्रति जनजाति महासंघको आपत्ति रहेको छ। उक्त महासंघले सोमबार पत्रकार सम्मेलन गरी महासंघका अध्यक्ष गेल्जे शेर्पाले पृथ्वी जयन्तीमा बिदा दिने सरकारको निर्णयको विरोध गरेका छन्। ‘गणतन्त्र नेपालमा कुनै राजाको जन्मदिनलाई एकता दिवस मनाउनु प्रतिगमनकै पहिलो कदम हो’, उनले भने।
मन्त्री तथा सांसदको शपथ ग्रहणमा दौरा सुरुवाललाई राष्ट्रिय पोशाक र नेपालीलाई राष्ट्रभाषा बनाउने गरी क्रियाकलाप भएको भन्दै उनले आपत्ति जनाए। ‘यो बहुभाषिक, बहुसाँस्कृतिक, बहुधार्मिक, बहुराष्ट्रियता र बहुजातीयता विपरीत छ’, उनले भने।
राज्यको पछिल्लो गतिविधि ऐतिहासिक जनआन्दोलन, जनयुद्ध, मधेश विद्रोह, थरुहट आन्दोलन र आदिवासी आन्दोलनबाट प्राप्त उपलब्धिहरू गणतन्त्र, संघीयता, धर्म निरपेक्षता र समानुपातिक समावेशी व्यवस्था विपरीत भएको पनि महासंघले आरोप लगाएको छ।