
११ पुस,
नेपाली कांग्रेसले मुखैमा आएको सत्ता गुमाएको छ। केन्द्रदेखि सातै प्रदेशमा अब कांग्रेसले सरकार बनाउन नसक्ने भएको छ। कांग्रेसले आलोपालो सरकारको नेतृत्व गर्ने मौखिक सहमति गरे पनि पहिलो कार्यकाल छाड्न नमान्दा सत्ता फुत्किएको हो।
नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र केही स्वतन्त्र सांसदहरू मिलेर नयाँ प्रधानमन्त्री माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बनाएका छन्।



२७५ सदस्यीय प्रतिनिधि सभामा बहुमत पुर्याएर सरकार बनाउन १३८ सांसद भए पुग्छ। प्रचण्डका पक्षमा १६९ सांसदको समर्थन जुटेको छ।
नयाँ गठबन्धन बनेर प्रचण्ड प्रधानमन्त्री भएसँगै ८९ सांसद रहेको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस भने प्रतिपक्षमा बस्नुपर्ने भएको छ। नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि प्रतिपक्षमा बस्ने सम्भावना छ।
कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति आफैँले राख्न खोज्दा उसले सरकारको नेतृत्व गर्ने अवसर गुमाएको हो।
एमाले अध्यक्ष केपी शर्मा ओलीलाई निर्वाचनपछि धेरैले सोध्ने एउटै प्रश्न थियो ‘सरकारमा जानेबारे एमालेले के सोच्दैछ ?’ उनको जवाफ हुन्थ्यो, ‘अहिल्यै चासो राख्यो भने बाच्छालाई हात्तीको भाउ भन्छन्। चुप लागेर बस्यो भने अन्त्यमा त्यही बाच्छो बोकाको भाउमा पाइन्छ।’ भयो पनि त्यस्तै। चुप लागेरै गठबन्धन भत्काइदिए। निर्वाचनमा तेस्रो बनेको माओवादी केन्द्रका अध्यक्षलाई प्रधानमन्त्री बनाए। सत्ता हातमा लिन सफल बने।
राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आह्वान गरेको समय घर्कन लाग्दा आइतबार राष्ट्रपति, सभामुख र आधा कार्यकालपछि प्रधानमन्त्री पाउने गरी ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई पहिलो लटमै प्रधानमन्त्री बनाए।
अघिल्लो दिन अर्थात् शनिबार मात्र ओलीले भनेका थिए, ‘प्रचण्डको प्रधानमन्त्री हुने रहर अब पूरा हुँदैन। उनले समय गुजारे।’ सम्भवतः यो राजनीतिक चालबाजी थियो। कांग्रेस सभापति शेरबहादुर देउवालाई यही कथनले पनि दाहालसँग अडान राखिरहन बल पुर्यायो।
देउवा स्रोतका अनुसार उनी सहमतिबिनै आइतबार ५ बजे गुजार्न चाहन्थे। त्यसपछि संविधानको धारा ७६ (३) अनुसार सबैभन्दा ठूलो दलको संसदीय दलको नेताका हैसियतमा प्रधानमन्त्री बन्ने अपेक्षामा थिए। त्यसो गर्दा १ महिनाभित्र विश्वासको मत लिँदा पुग्थ्यो। त्यहीबीच बाँकी सहमति जुटाउने ‘उधारो बाटो’ मन पराएका थिए उनले। तर, त्यसलाई अन्तिम समय पल्टाइदिए ओलीले। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।