१९ मंसिर, बाँके । पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाङको धानखोलादेखि शिवखोला खण्डमा सडक मिचेर बनाइएका संरचना हटाउन सडक डिभिजन कार्यालय दाङले १५ दिने सूचना जारी गरेको छ ।
सडक डिभिजन कार्यालय दाङले एक सूचना जारी गर्दै १५ दिन भित्र धानखोलादेखि शिवखोलासम्मको सडक क्षेत्र दायाँ–बायाँ ३१ मिटरभित्र रहेका संरचना हटाउन भनेको छ ।
सूचनामा १५ दिन भित्र खाली नगरेको खण्डमा डिभिजनले उक्त क्षेत्रका अनधिकृत संरचना भत्काउने र हटाउने कार्यलाई अघि बढाउने भन्दै उक्त क्षेत्र खाली गर्दा र गराउँदा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित व्यक्ति वा संस्थाबाट सरकारी बाँकी सरह असुल उपर गरिने जनाएको छ ।
यस्तै पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाङको धानखोला क्षेत्रमा होटल व्यवसाय गदै आएका व्यवसायीहरु संकटमा पर्ने भएका छन् । लामो समयदेखिको होटल व्यवसाय गदै आएका उनीहरु सडक विस्तारले विस्थापित हुने भएका हुन् ।