१९ मंसिर । मंसिर ४ मा सम्पन्न निर्वाचनमा अन्तर्घात गरेको भन्दै पर्सा एमालेका १६ जनालाई कारबाही गरिएको छ ।
निर्वाचनमा अन्तर्घात गरेर पार्टीका उम्मेदवारहरूलाई हराउने कार्यमा संलग्न रहेको भन्दै एमाले जिल्ला पार्टीका जिल्ला सचिवसहित १६ जनालाई पार्टीको साधरण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ।
शनिबार निर्वाचनको समीक्षा गर्न पर्साको सचिवालय कमिटीको बैठकमा अन्तर्घात गरेका र बागी उम्मेदवारी दिएकाहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको हो।
कारबाहीमा पर्नेहरूमा एमाले जिल्ला सचिव एवं छिपहरमाइ गाउँपालिकाका अध्यक्ष मनोज गुप्ता, जिल्ला सचिवालय सदस्य एवं सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव, जिल्ला सदस्यसमेत रहेका छिपहरमाइ गाउँपालिका–५ का वडाध्यक्ष मौजीलाल साह कानु, सखुवा प्रसौनी गाउँपालिका–१ का वडाध्यक्ष वासुदेव महतो थारू रहेका छन्।
यस्तै, ताजदिन अन्सारी, इमरान हुसेन, मञ्जुर आलम, पवन तिवारी, सुभाष साह कानु, वीरेन्द्र साह कानु, मुस्तकिम अन्सारी, रामप्रित महतो थारू, अमानत अन्सारी, नबिजान मियाँलाई पनि पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको एमाले पर्साले जनाएको छ ।