
८ कार्तिक,काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ११ वटा विकास बैंकहरुले आफ्नो वित्तीय विवरण सार्वजनिक गरेका छन् । हालसम्म वित्तीय विवरण सार्वजनिक गरेका विकास बैंकहरुको समग्रमा ३० प्रतिशत भन्दा बढी नाफा घटेको छ ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा विकास बैंकहरुको खुद नाफा ३०।३७ प्रतिशत घटेर १ अर्ब ८ करोड ८२ लाख ७० हजार रुपैयाँ मात्रै आर्जन गरेका छन् । गत आर्थिक वर्षको सोही अवधिमा यी ११ बैंकले १ अर्ब ५६ करोड ३० लाख ७९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका थिए ।



४ विकास बैंकको नाफा बढ्यो
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा आफ्नो वित्तीय विवरण सार्वजनिक गरेका ४ वटा विकास बैंकहरुको नाफा बढेको छ । जसमध्ये शाइन रेसुंगा डेभलपमेन्ट बैंकको ४२ प्रतिशत बढेर २० करोड ९१ लाख ३६ हजार रुपैयाँ, सांग्रिला डेभलपमेन्ट बैंकको नाफा १३७ प्रतिशत बढेर ५ करोड ५३ लाख ४५ हजार रुपैयाँ, गरिमा विकास बैंकको नाफा ४.८३ प्रतिशत बढेर १९ करोड ३३ लाख २८ हजार रुपैयाँ र मितेरी डेभलपमेन्ट बैंकको १.१५ प्रतिशत बढेर २ करोड ५६ लाख ३५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।
७ विकास बैंकको नाफा घट्यो
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा विभिन्न ७ वटा बैंकहरुको नाफा घटेको छ । जसमध्य २ वटा बैंक नोक्सानीमा छन् । लुम्बिनी विकास बैंकको ६६.६७ प्रतिशत घटेर ७ करोड १० लाख २९ हजार रुपैयाँ नाफा कमाएको छ ।
असोज मसान्तसम्ममा मुक्तिनाथ विकास बैंकको नाफा पनि घटेको छ । बैंकले गत वर्षको तुलनामा ११ प्रतिशत घटेर ३० करोड ७४ लाख १५ हजार रुपैयाँ नाफा आर्जन गरेको हो । बैंकको नाफा घटेपनि सबैभन्दा धेरै नाफा आर्जन गर्नेमा मुक्तिनाथ विकास बैंक रहेको छ ।
यस्तै, ज्योति विकास बैंकको ५४ प्रतिशत घटेर १० करोड ९९ हजार रुपैयाँ, महालक्ष्मी विकास बैंकको ४८ प्रतिशत घटेर ११ करोड ९३ लाख ३९ हजार रुपैयाँ र कामना सेवा विकास बैंकको ७६ प्रतिशत घटेर ४ करोड १५ लाख ६१ हजार रुपैयाँ मात्रै नाफा आर्जन गरेका छन् ।
यस्तै ग्रीन डेभलपमेन्ट बैंक १ करोड ७८ करोड ३६ लाख रुपैयाँ र नारायणी डेभलपमेन्ट बैंकक १ करोड ६७ लाख ८१ हजार रुपैयाँ नोक्सानीमा छन ।