११ असोज,
बाँके : बाँकेको नेपालगन्ज उप-महानगरपालिकाले आज मंगलबारदेखि वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ । राष्ट्रिय वाणिज्य बैंक नेपालगन्ज शाखाले वडा कार्यालयमै पुगेर भत्ता वितरण गरेको हो।
वडाबाटै भत्ता वितरण सुरु भएपछि स्थानीय खुसी भएका छन् । साथै बैंकमा दिनभर लाइन बस्नुपर्ने बाध्यता हटेको केहि स्थानीयले बताए। यो सुरुवात उपमहानगर-२२ बाट सुरु गरिएको हो।
सामाजिक सुरक्षा भत्ता वितरण कार्यको अवलोकन गर्न वडा नम्बर २२ को कार्यालय पुगेका नगर प्रमुख प्रशान्त विष्टले ज्येष्ठ नागरिक र अपांगता भएकाहरूलाई बैंकमा घण्टौँ लाइन बस्नुपर्ने अवस्थाको अन्त्य गर्न वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरिएको बताए ।
राष्ट्रिय वाणिज्य बैंक नेपालगन्ज शाखाले उप-महानगरको १४ वटै वडामा पुगेर भत्ता वितरण गर्ने गरी नेपालगन्ज उपमहानगरपालिकासँग सहकार्य गरिएको जनाएको छ ।