
८ असोज,
सल्यान : सल्यानको शारदा नगरपालिका ३ मा रहेको खड्कदेवी प्राथमिक विद्यालयमा पाँच शिक्षक र एक कार्यालय सहयोगी गरी ६ जना कर्मचारी रहेका छन्। उक्त विद्यालय पाँच कक्षासम्म मात्रै सञ्चालित रहेको छ। विद्यालयमा शिक्षक पाँच छन्। तर तिनले पढाउनु पर्ने विद्यार्थी भने जम्मा तीन जना रहेका छन्।
विद्यालयमा यस शैक्षिक सत्रमा जम्मा १७ विद्यार्थी भर्ना भएका थिए तर नियमित भने जम्मा ३ जना रहेका छन्। बालविकासमा ३, कक्षा १ मा ३, कक्षा २ मा ३, कक्षा ४ मा ५ र कक्षा ५ मा १ जना विद्यार्थी भर्ना भएका थिए। बालविकासमा एक जना र कक्षा १ मा दुई जना गरेर तीनजना विद्यार्थी मात्र नियमित विद्यालयमा आउने गरेका छन्।



विद्यालयका प्रधानाध्यापक मिर्जुकुमारी महर्जनका अनुसार, ‘यो वर्ष त तीनजना मात्रै पढाउने त होला, अब अर्को वर्ष विद्यार्थी थप गर्न सकिन्छ कि।’ भन्ने आशा रहेको बताएकी छन्।
वि.सं. २०७२ सालमा वीपी स्मृति प्रा.वि सिरुवार र द्वारिका प्रा.वि बडाखोला यस विद्यालयमा मर्ज भएका थिए। तर पनि यस विद्यालयमा विद्यार्थी नहुँदा बन्द हुने अवस्थामा पुगेको छ।