२७ भदौ,
नेपाल सरकारले पाकिस्तान सरकारलाई २ करोड रुपैयाँबराबरको राहत सामग्री सहयोग गर्ने भएको छ। बाढीबाट प्रभावित पाकिस्तानलाई २ करोड रुपैयाँ बराबरको राहत सामग्री दिने निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिएका छन् ।
पोखरेलका अनुसार, गत भदौ २१ गते बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो। मंगलबार परराष्ट्रमन्त्रालयकी सहसचिव तथा प्रवक्ता सेवा लम्साल नेतृत्वको टोली पाकिस्तानमा राहत सामग्री लिएर जाँदैछ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार गत जुन १४ यता पाकिस्तानमा बाढीबाट १२ सयभन्दा बढीको मृत्यु भएको छ । गत शनिबार मात्रै पाकिस्तानमा बाढीले ५७ जनाको मृत्यु भएको थियो । यस वर्ष पाकिस्तान बाढीबाट नराम्ररी प्रभावित भएको छ ।