२६ भदौ,
नेपाल प्रहरीले प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको लागि म्यादी प्रहरीको लागि भर्ना खुला गरेको छ। प्रधान कार्यालय मानव श्रोत विकास विभागको भर्ना छनौट शाखाले म्यादी प्रहरी भर्ना छनौट, नियुक्ति तथा परिचालन सम्बन्धी मापदण्ड, २०७९ अनुसार एक लाख पन्ध्र हजार म्यादी प्रहरीका लागि दरखास्त आह्वान गरेको हो।
इच्छुक नेपाली नागरिकले भदौ ३० गतेदेखि असोज ६ गतेसम्म सार्वजनिक बिदाको दिन समेत दरखास्त बुझाउन सक्नेछन्। दरखास्त फाराम सबै जिल्ला प्रहरी कार्यालयमा पाइनेछ। म्यादी प्रहरीको सेवा अवधि ४० दिनको रहने प्रहरीले जानकारी दिएको छ।
उक्त म्यादी प्रहरीको सेवा तथा सुविधाका लागि प्रतिदिन ८ सय ६९ रुपैयाँको दरले ४० दिन सम्मका लागि निजको व्यक्तिगत बैंक खातामा रकम जम्मा गरी दिने गरी जम्मा पारिश्रमिक ३४ हजार ७६० रुपैयाँ प्राप्त हुनेछ । खाद्यान्न बापत प्रति व्यक्ति एकमुष्ट ७ हजार २०० रुपैयाँ हुनेछ भने हिमाली जिल्लामा खटिने म्यादी प्रहरीहरूको हकमा जिल्लाको न्यूनतम राशन दररेट अनुसारको रकम पाउनेछन् ।
विज्ञापनसहित हेर्नुहोस्