१५ साउन,
बागलुङको जैमिनी नगरपालिका वडा नम्बर–९ का अध्यक्ष सन्दीप थापा (इन्द्र) ले घरमा पत्नी, छोराछोरी हुँदाहुँदै बहुविवाह गरेका छन्। उनको चारवटा पत्नीमध्ये दुईले छाडेको स्थानीयले बताए ।

वडाभित्रका नागरिकलाइ पर्ने पीरमर्का र गुनासो सुन्ने, पीडितका पक्षमा सिफारिस लेख्ने वडाध्यक्षको जिम्मेवारी हुन्छ । वडाध्यक्षले बहुविवाह गरेकालाई कारबाही र पीडितलाई न्याय दिनुपर्छ । बहुविवाह गरेमा वडामा दर्तासमेत हुँदैन । बहुविवाह गरेमा स्वत: रद्द हुने कानुनी व्यवस्थासमेत छ । तर जनताको पक्षमा काम गरिदिनुपर्ने व्यक्ति नै पीडक बनेर देखिएका छन् ।

वडाध्यक्ष थापा एमालेबाट वडा अध्यक्ष पदमा निर्वाचित भएका हुन् । थापाको घरमा पत्नी, ३ छोरी र १ छोरा छन् । उनले ताराखोलाकी एक युवतीसँग अर्को विवाह गरेका हुन् । यसअघि थापाले विवाह गरेकी पहिलो र तेस्रो पत्नीले छाडेका थिए ।

थापाले ती युवतीलाई दुई पटकसम्म दबाब दिएर गर्भपतन गराएका थिए । तेस्रो पटक गर्भ बसेपछि उनले विवाह गर्छु भनेर युवतीलाई फकाएर राखेको स्थानीय बताउँछन् ।

जैमिनी नगरपालिकाका प्रमुख नरबहादुर पुनले नगरपालिकामा उनीविरुद्ध उजुरी नआएको बताए । एमाले अध्यक्ष हिराबहादुर केसीले घटना विचित्रको भएको बताए । ‘यो वास्तविकता हो भने कारबाहीको दायरामा आउनैपर्छ,’ केसीले भने, ‘कानुनको बर्खिलाप हुने काम कसैले पनि गर्न पाइँदैन ।’ पार्टीबाट पनि आफ्नै अनुसन्धान हुने उनले बताएका छन्। रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय