२१ असार,
दाङ : दाङको बबई गाउँपालिका ५ सिमगैराका ६१ वर्षीय रिमबहादुर खड्का अहिले कक्षा ५ मा पढ्न थालेका छन्। उनी पढाउन नभई पढ्न विद्यालय गएका हुन्।
बिहान नै उठेर घरको काम सकी उनी ९ बजे विद्यालय जानको लागि तयारी हुन्छन्। घरबाट १० मिनेटमा पुगिने विद्यालयमा उनी नाति–नातिना उमेरका विद्यार्थीसँग कक्षा ५ मा पढ्छन्। सानै उमेरमा पढ्ने रहर भएता पनि आर्थिक अवस्थाका कारण उनी कहिल्यै विद्यालय जान पाएनन्।
अहिले उमेरले पनि पाको भएपछि र दिउँसो समयमा घरमा पनि कुनै काम नभएपछि सानैदेखिको रहर पूरा गर्न विद्यालयमा भर्ना भएको उनले बताए। ‘पढाइ कहिले पनि नसकिने र उमेरले पनि छेक्ने रहेनछ’, उनले भने, ‘त्यसैले मैले पनि पढाइ शुरु गरेको हुँ।’
उमेरले पाको भएपनि उनका साथी भने अहिले साना–साना विद्यार्थी छन्। उनी विद्यालयको कोठामा पस्ने बित्तिकै साथीहरूले बाजे नमस्कार भनेर आफूसँग बस्ने आग्रह गर्छन्। ‘कक्षा कोठामा पस्नेबित्तिकै बाजे आउनु भयो भन्छन्’ उनी भन्छन्, ‘म कक्षा कोठामा बस्दा कसैले होहल्ला गर्दैन। सबैले पढाइमा ध्यान दिएका छन्। मैले पनि उनीहरूलाई राम्रो विद्यार्थी बन्न हौसला दिएको छु।’ एसईई उत्तीर्ण हुने उनकोे लक्ष्य छ। स्वास्थ्यले साथ दिएसम्म त्यो पूरा गर्ने उनले बताए।
विद्यालयका प्रधानाध्यापक कुम्भकर्ण खत्रीले ६१ वर्षीय विद्यार्थी विद्यालयमा भर्ना हुन आउँदा शुरुमा आफूलाई अनौठो लागेको बताए। ‘शुरुमा उहाँ भर्ना हुन आउँदा मैले उहाँलाई सोधेको थिए। तपाईंको उमेर गइसकेको किन पढ्न थाल्नु भयो, भनेर सोध्दा उहाँले पछिल्लो समय सबैले पढाइतिर ध्यान नदिएको अवस्था र आफ्नो सानैदेखि विद्यालय जाने रहर भएका कारण आएको भन्नुभयो र उहाँ भर्ना हुनुभयो,‘ उनले भने। उनका अनुसार कक्षा ५ सम्म रहेको विद्यालयमा अहिले ७८ विद्यार्थी छन्।