
८ असार,
जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरको जीप सुर्खेतको कपासेमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा, रूकुम पश्चिम चौरहजारीका २८ वर्षीय धर्मराज बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
प्रहरीका अनुसार बुधबार बेलुका गोढीकाँडाबाट वीरेन्द्रनगर आउँदै गरेको बा १ झ ८७८४ नम्बरको उक्त जीप वीरेन्द्रनगर नगरपालिका–७ सडक खण्ड कपासेमा जीप ब्रेक फेल भएर सडक भन्दा २५ फिट तल खसेको हो । उक्त जीपमा ५ जना सवार रहेका थिए । चार जना घाइतेको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


