
बा, स्कुलमा त
बा होइन, ड्याडी भन्नुपर्छ रे
आमा होइन, ममी भन्नुपर्छ रे
काका होइन, अङ्कल भन्नुपर्छ रे
काकी होइन, आन्टी भन्नुपर्छ रे !
बा, स्कुलमा त
नेपाली होइन, इङ्लिस बोल्नुपर्छ रे
दौरासुरुवाल होइन, टाइसुट लाउनुपर्छ रे
खाजा होइन, टिफिन खानुपर्छ रे
कार्यालय होइन, अफिस जानुपर्छ रे !
बा, स्कुलमा त
‘आऊँ ?’ होइन, ‘मे आइ कम इन ?’ भन्नुपर्छ रे
‘बसुँ?’ लाई ‘क्यान आइ सिट ?’ भन्नुपर्छ रे
सोध्नुपर्दा ‘एक्सक्युज मि ?’ भन्नुपर्छ रे
हुन्छ भने ‘येस’ र हुन्न भने ‘नो’ भन्नुपर्छ रे !



बा, यी सब कुरा मलाई घरमै किन सिकाउनु भएन ?
बा, स्कुल भन्या अङ्ग्रेजी पढाउने ठाउँ हो ?
घरकै भाषामा पढ्ने स्कुल कहिले बन्छ बा ?
घरमा र स्कुलमा उही भाषा किन चल्दैन बा ?
बा, हाम्रो भाषा स्कुलमा प्रयोग गर्न नमिल्ने भाषा हो ?
बा, व्यर्थमा मलाई बा–आमा भन्न किन सिकाउनुभयो ?
यसो भन्दा त असभ्य र पाखे भइन्छ रे बा
बा, म पनि अब सभ्य र शिष्ट हुन सिक्छु है
बा, म अब ‘बा’ होइन, ड्याडी भन्छु है !
मोहन सिंह साउद
सहप्राध्यापक, कैलाली बहुमुखी क्याम्पस, धनगढी
(साहित्य पोस्टबाट)