१९ जेठ,
गुल्मी : गुल्मीको रेसुङ्गा नगरपालिका–८ स्थित सिद्धबाबा माध्यमिक विद्यालयमा दलित समुदायका विद्यार्थीलाई वडा कार्यालयको पहलमा उच्च माध्यमिक तहसम्म निःशुल्क अध्ययनको व्यवस्था गरिँदै आएको छ ।
२०७४ को स्थानीय तह निर्वाचनमा रेसुङ्गा–८ को वडाध्यक्षमा निर्वाचित प्रकाश भलामीले पदभार ग्रहण गर्दा दलित, अति विपन्न र एकल महिलाका छोराछोरीलाई कक्षा १२ सम्म निःशुल्क अध्ययनको व्यवस्था गर्ने घोषणा गरेका थिए । आफ्नो कार्यकालभरि उनले उक्त घोषणा कार्यान्वयन गरेको पूर्व वडाध्यक्ष प्रकाश भलामिले जनाएका छन्।
वडाध्यक्ष प्रकाशका अनुसार, वडामा गरिबीका कारण कतिपय बालबालिकाले अध्ययन गर्न पाएका थिएनन् । पालिकाबाट वडालाई विनियोजित बजेटबाट रकम छुट्याएर ती वर्ग समुदायका विद्यार्थीलाई निःशुल्क अध्ययनको व्यवस्था गरिएको उनले बताए ।
उक्त विद्यालयका प्रधानाध्यापक डोरविक्रम श्रीसले संविधानमा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क भनिए पनि व्यवहारमा सामुदायिक विद्यालयहरुले निःशुल्क पढाउन नसकेपछि न्युनतम शुल्क लिएर निजी क्षेत्रका विद्यालयमा भन्दा गुणस्तरीय शिक्षा प्रदान गरिँदै आएको बताएका छन् ।
प्रधानाध्यापक श्रीसका अनुसार, विद्यालयमा ५९ जना शिक्षक, स्टाफ छन् । जम्मा २२ जनालाई मात्र सरकारले तलव खुवाउँछ बाँकि सबै स्टाफलाई तलब खुवाएर न्युनतम शुल्क लिई पढाएको बताए।
यसरीनै सबै नगरपालिका र वडा कार्यालयको पहलमा गाउँ-सहर देखि सबै विद्यालयहरुमा यो नियम बनाएर कार्यान्वयन गर्न जरुरि देखिएको छ। रासस