१६ जेठ,
सरकारले विदेश पढ्न जानेसँग २ प्रतिशत शैक्षिक कर असुल्ने भएको छ । आर्थिक वर्ष २०७९÷८० को बजेट सार्वजनिक गरेको सरकारले करको दायरा विस्तार गर्दै विदेशमा अध्ययन गर्न जाने विद्यार्थीहरुबाट २ प्रतिशत शैक्षिक शुल्क असुल्ने निर्णय गरेको हो।
यस्तो शुल्क विदेश पढ्न जाने विद्यार्थीले विदेशी मुद्राको सटही सुविधा दिँदा बैंक तथा वित्तीय संस्थाले २ प्रतिशत शिक्षा सेवा शुल्क लगाई असुल गर्नुपर्ने र सम्बन्धित कर कार्यालयमा दाखिला गर्नुपर्ने व्यवस्था गरिएको छ।
विदेशी मुद्राको सटही सुविधा उपलब्ध गराउने बैंक वा वित्तीय संस्थाले शिक्षा सेवा शुल्क बापत संकलन गरेको रकम अर्को महिनाको पच्चीस गतेभित्र राजस्व खातामा जम्मा गरी सोको विवरण सहितको जानकारी सम्बन्धित राजस्व कार्यालयमा पठाउनु पर्नेछ । बैंक वा वित्तीय संस्थाले शिक्षा सेवा शुल्कको रकम दाखिला नगरेमा वार्षिक पन्ध्र प्रतिशतका दरले ब्याज असुली गरिने समेत सरकारले कानुनी व्यवस्था गरेको छ । रासस