
१३ जेठ,
आगामी आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक हुँदैछ। नयाँ आर्थिक वर्षसँगै सरकारी कर्मचारीको तलब बढ्ने निश्चत भएको छ। यसको नेतृत्व गर्ने मुख्यसचिव शंकरदास बैरागीले पाएका छन्।
बैरागीको टिममा अर्थ सचिव मधुकुमार मरासिनी र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सुरेश अधिकारी छन्। यो टिमले कर्मचारीहरूको नयाँ तलबमान तोक्ने छ।



अर्थ मन्त्रालय स्रोतका अनुसार नयाँ आर्थिक वर्षमा २ हजारका दरले सबै तहका कर्मचारीको तलब बढाउने जनाएको छ। तलब वृद्धिको आलोचना हुने जान्दाजान्दै सरकार त्यही बाटो हिँड्न खोज्दैछ। त्यसो त तलब वृद्धिको अर्थतन्त्रमा दीर्घकालीन असर पर्छ। यसको चाप सामाजिक सुरक्षा भत्तादेखि अवकाशप्राप्त कर्मचारीको सेवासुविधामा पर्न जान्छ।
मंसीर वा फागुनमा प्रदेश र संघीय संसद्को निर्वाचन हुनेछ। ‘भोट बैंक’ को लागि पनि सरकारले कर्मचारीलाई रिझाउन थोरै भए पनि तलब बढाउने नीति लिएको छ। त्यसो त यसअघि हरेक दुई वर्षमा कर्मचारीको तलब पुनरावलोकन हुँदै आएको थियो। विगत दुई वर्षदेखि कोरोना महामारीलगायत कारणले सरकारले थोरै मात्रै तलबवृद्धि गर्दै आएको थियो।
यसअघि चालु आवको बजेटमा अर्थमन्त्री विष्णप्रसाद पौडेलले पनि २ हजारका दरले कर्मचारीको तलब वृद्धि गरेका थिए। प्रतिस्थापन बजेटमार्फत अर्थमन्त्री जनार्द्धन शर्माले कतिपय व्यवस्था परिवर्तन गरे पनि यो शीर्षकलाई निरन्तरता दिएका थिए।