१० बैशाख,
जुम्ला : जुम्लाको तिला गाउँपालिका ३ सार्कीवाडास्थित मानसिं सार्कीको घरमा आगलागी हुँदा चार बालबालिकाको मृत्यु भएको छ।
मृत्यु हुनेमा, सार्कीका छोरीहरू ११ वर्षीया अनु र तीन वर्षीया दर्शना तथा एक वर्षीय छोरा दीपेश र भान्जी १४ वर्षीया तुलसा सार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।
प्रहरीका अनुसार घरमा आगलागी हुदा मानसिं, श्रीमती फागुनी सार्की र बहिनी रुन्चकली सार्की समेत बेहोस भएका छन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनीहरूको उपचार भइरहेको छ।
जिल्लाको सदरमुकामबाट करिब १८ किलोमिटरको दूरीमा भएको गाउँमा आगलागी भएको हो। आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ। मृतक चारै बालबालिकाको शव परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।