६ बैशाख,
बाँके : बाँकेको राप्तिसोनारी गाँउपालिका वडा नं २ स्थित मधुईमा रहेको श्री लक्ष्मी माध्यामिक विद्यालयले ‘पढ्दै कमाउदै’ कार्यक्रम संचालनमा ल्याएको छ ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत देशभरका १ सय ४० विद्यालय सञ्चालन हुने यो कार्यक्रम राप्तिसोनारीमा लक्ष्मी मा.वि. छनौटमा परेको विद्यालयका प्रधानाध्यापक लक्ष्मण प्रसाद आचार्यले जानकारी दिएका छन्।
प्रधानाध्यापक आचार्यका अनुसार, शिक्षालाई सिपसंग, सिपलाई श्रमसंग, श्रमलाई उत्पादनसंग र उत्पादनलाई बजारसंग जोडी भविष्यमा उद्यमी, व्यवसायिक, सिपयुक्त एवम् स्वालम्बी नागरिक उत्पादन गर्ने मुख्य लक्ष्यसहित यो कार्यक्रम संचालन गरिएको बताए।
उक्त कार्यक्रमको पहिलो चरणमा प्राविधिक शिक्षा अध्ययन गरीरहेका कक्षा ९ देखी १२ सम्मका विद्यार्थीहरुलाई लक्षित गरी विभिन्न कार्यक्रम सन्चालन गरिएको छ। यस कार्यक्रमका लागि विद्यालयसंग भएको २५ विघा जग्गाको उपयोग गरीने प्रधानाध्यापक आचार्यले बताएका छन् ।
‘बाली विज्ञान विषय पढिरहेका विद्यार्थीलाई ५, ६ जनाको एउटा ग्रुप बनाएर एउटा काम दिइने छ। जस्तै बंगुरपालन, कुखुरापालन, तरकारी खेती आदि।’ यसरी विद्यालयमा भएका उत्पादन होटेल, रेष्टुरेन्ट लगायतसंग समन्वय गरेर बजारीकरण गरिनेछ ।
‘यसरी भएको आम्दानीबाट ५० प्रतिशत विद्यालयको कोषमा र ५० प्रतिशत विद्यार्थीका लागि छुट्याइनेछ । यो रकम विद्यार्थीहरुलाई लोन दिन पनि प्रयोग गर्न सकिन्छ’ उनले भने ‘यसरी विद्यार्थीहरुले अन्य कक्षा र घरमा समेत सिप सिकाउने छन् । विद्यालयमा पढ्दै कमाउदै स्वरोजगार बन्नका लागि यो कार्यक्रमले ठुलो अभिप्रेरीत गरिने आचार्यले बताए ।
यो कार्यक्रम खजुरा गाँउपालिकाको जनता नमुना मावि र कोहलपुरको बालशिक्षा माविमा गरी बाँकेका ३ वटा विद्यालयमा परिक्षणका रुपमा सन्चालन ल्याएको छ। नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव श्रोत विकास केन्द्र सानोठिमी भक्तपुरले गत चैत्र ८ गते निर्णय गरि विद्यालय छनौट गरेको थियो ।