१ बैशाख,
बाँके : विराटनगरमा मानवका विभिन्न ४६ वटा अंगसहित भारतीय एकजना नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा, भारतको बिहार प्रदेश पुर्णिया जिल्लाको पूर्णियास्थित नगर पञ्चायतका २६ वर्षीय आदित्य सिंन्हालाई सशस्त्र प्रहरीको सीमा सुरक्षा बल नेपाल बोर्डर आउट पोष्ट रानीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। उनलाई विराटनगर–१५ स्थित मुख्य रानी नाकाको १ नम्बर ढाटबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार, भारतीय नागरिक सिन्हाका साथबाट मानव खप्पर, खुट्टाको हड्डी, हातको हड्डी, करङको हड्डी, बंगराको हड्डी, काँधको हड्डी, घाँटीको हड्डी, हिपको हड्डी, ढाडको हड्डी, औँलाको हड्डी र कुर्कुच्चा हड्डी गरी ४६ वटा मानव अंग बरामद गरेको छ। उनले ती मानव अंग भारतीय संग्रहालयमा बेच्न लैजान लागेको आशंका प्रहरीले गरेको छ।
यसअघि असोज १८ मा विराटनगर प्रहरीले भारत लैजान लागेको मानव खप्पर २८ वटा र मानव हातखुट्टा १० वटा बरामद गरेको थियो।
उनलाई आवश्यक अनुसन्धान र कारवाहीका लागि इलाका प्रहरी कार्यालय रानीमामा बुझाइएको प्रहरीले जनाएको छ।