२२ चैत,
बाँके : मकवानपुरको बागमती गाउँपालिका–८ स्थित जनता माध्यमिक विद्यालयका १५ छात्रामाथि ३ शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै विद्यार्थीले विद्यालयमा तालाबन्दी गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रहरीका अनुसार, विद्यालयका ३ जना शिक्षकले कक्षा ४, ५, ६, ७ र ८ मा पढ्ने १५ जना छात्रामथि यौन दुर्व्यवहार गरेको भन्दै विद्यालयमा तालाबन्दी गरेका हुन। गएको चैत ११ र १२ गते पीडित १५ जना छात्रा तथा ६ जना अभिभावकले शिक्षकमाथि कारबाहीको माग गर्दै विद्यालयमा उजुरी दिएका थिए ।
उक्त छात्राहरूको उजुरीपछि एक हप्ताअघि आरोपित शिक्षकलाई ३ दिनका लागि विद्यालयका प्रअ राईले निलम्बन गरेका थिए। निलम्बन फुकुवा भएपछि पनि शिक्षकहरू विद्यालय नआएको उनको भनाइ छ। सोही विषयमा छलफल गर्न मंगलबार विद्यालय परिसरमा बैठक बसेको थियो तर बैठकमा भएको छलफलमा चित्त नबुझेको भन्दै विद्यार्थीले विद्यालयमा तोडफोड गर्दै तालाबन्दी गरेको विद्यालयका प्रधानाध्यापक राईले बताए। तोडफोडबाट विद्यालयको डिजिटल स्क्रिन, प्रोजेक्टर, बेन्च, गमला, डस्टबिन लगाएत अन्य वस्तुहरुको समेत नोक्सान भएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार, हालसम्म प्रहरीको उजुरी नपरेकाले आरोपितलाई पक्राउ नगरेको भन्दै गम्भीर विषय भएकाले अनुसन्धान गरी दोषी देखिए कारबाहीका लागि प्रक्रिया अगाडि बढाउने जनाएको छ। रासस