१७ चैत,
रामेछाप : रामेछापमा गाउँपालिकाका अध्यक्षसहित २७ जनाविरुद्ध १७ करोडभन्दा बढी रूपैयाँको भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष तथा कर्मचारीसहित २७ जनाविरुद्ध बिगो दाबीसहित भ्रष्टाचारको मुद्दा दायर गरेको हो।

पालिका अध्यक्ष गोविन्दबहादुर खड्का, प्रमुख प्रशासकीय अधिकृतहरू राजुप्रसाद न्यौपाने र टंकप्रसाद चौलागाईं, लेखापाल तथा विभिन्न उपभोक्ता समितिका अध्यक्षहरूविरुद्ध कुल १७ करोड ७ लाख २४ हजार ८ सय ९२ रूपैयाँको भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो।

अनुसन्धानबाट भ्रष्टाचारजन्य कसुर देखिएकाले आज (बिहीबार) बिगो मागदाबीसहित विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए। अख्तियारले गाउँपालिका अध्यक्ष खड्कासँग ४ करोड २१ लाख ७ सय ६ रूपैयाँ, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत न्यौपानेसँग १ करोड १२ लाख ८२ हजार र चौलागाईंसँग ३ करोड ८ लाख १८ हजार रूपैयाँ बिगो माग गर्दै मुद्दा दायर गरेको छ।

तत्कालीन लेखापाल दुर्गाबहादुर तामाङसँग १ करोड २६ लाख ७५ हजार र नोर्बु लामासँग २ करोड ९४ लाख २५ हजार रूपैयाँ बिगो माग गरिएको छ। विभिन्न ९ वटा विद्युतीयकरण उपभोक्ता समितिविरुद्ध ४ करोड ४४ लाख २२ हजार ७ सय ७५ रूपैयाँ बिगो कायम गरी आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ।

उनीहरूविरुद्ध विद्युतीय सामान खरिद गर्दा प्रक्रिया नपुर्‍याइ उपभोक्ता समिति गठन गरी अनुगमन र प्राविधिक नापजाँच नगरी भुक्तानी दिएको आरोप लागेपछि अख्तियारले अनुसन्धान गरेको थियो। रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय