
१२ फागुन,
सल्यान : जिल्ला प्रशासन कार्यालय सल्यानले बुधबार गरेको छड्के निरीक्षणमा एकै दिन विभिन्न १७ कार्यालयका १ सय ९ कर्मचारी अनुपस्थित भएको पाइएको छ। सल्यानको सदरमुकाममा रहेका १७ सरकारी कार्यालयको छड्के निरीक्षणको क्रममा धेरै कर्मचारी अनुपस्थित भएको पाइएको हो।
जिल्ला प्रशासन कार्यालय सल्यानका अनुसार सबैभन्दा धेरै सल्यान जिल्ला अस्पतालमा ३६, स्वास्थ्य सेवा कार्यालयमा १६, सामाजिक विकास कार्यालयमा ४, डिभिजन वन कार्यालयमा ५, कृषि विकास कार्यालयमा १३, प्रदेश लेखा एकाइमा २ कर्मचारी अनुपस्थित रहेको जानकारी दिएको छ।



यस्तै विभिन्न सरकारी कार्यालयमा छड्के निरीक्षण गर्दा एकै दिन १ सय ९ कर्मचारी अनुपस्थित भएको जिल्ला प्रशासन कार्यालय सल्यानका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी थमन खड्काले जानकारी दिए।
खड्का भनछन्, “बिदा वा काज स्वीकृत नगराई कार्यालयमा अनुपस्थित रहने कर्मचारीलाई अनुपस्थित रहनुको कारण खुलाई एक साताभित्र लिखित जवाफ पेश गर्न पत्राचार गरिएको उनले बताएका छन्।”
सल्यान जिल्लाको सरकारी कार्यालयहरुमा सेवा चुस्त नभएको गुनासो आउन थालेपछि छड्के निरीक्षण गरिएको कार्यालयले जनाएको छ। रासस