कैलालीको धनगढीमा रहेको ग्लोबल मोबाइल ग्यालरीमा चोरी गर्ने दुई जना प्रहरी निलम्बनमा परेका छन् । प्रहरी हवल्दार होमबहादुर माल र प्रहरी जवान भरतबहादुर बुढाल निलम्बनमा परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख, प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिएका छन्।
अधिकारीका अनुसार, उनीहरुविरुद्ध चोरीको मुद्धा दर्ता गरि ५ दिनको म्याद थप गरिएको बताए । म्याद थप हुने वित्तिकै स्वतः निलम्बनमा परेका छन्। “उनले भने”
लागूऔषधको कारोबार भइरहेको सूचना पाएपछि मोबाइल ग्यालरीमा गएका माल र बुढालले चोरी गरेको भिडियो सार्वजनिक भएको थियो। भिडियो सार्वजनिक भएपछि जिल्ला प्र्रहरी कार्यालय कैलालीले मुद्धा दर्ता गर्दै उनीहरुलाई हिरातसमा राखेर अनुसन्धान अगाडि बढाएको हो।
मोबाइल पसलबाट मोबाइल चोरिएको भिडियो सार्वजनिक हुदासम्म पनि मोबाइल व्यवसायीहरूले बर्दीसहित पसल छिरेर मोबाइल चोर्ने घटना अपत्यारिलो भएको बताएका छन्। मोबाइल व्यवसायीहरूको संस्था नेपाल मोबाइल व्यवसायी महासंघले विज्ञप्ति जारी गर्दै घटनाप्रति ध्यानाकर्षण भएको बताएको छ।
विज्ञप्तिमा सुरक्षामा खटिएका प्रहरीबाटै मोबाइल चोरिएको घटना अपत्यारिलो भएको र मोबाइल व्यवसायीहरू असुरक्षित भएको उल्लेख गरिएको छ। महासंघले चोरीमा संलग्न दोषीलाई तत्काल सार्वजनिक गरी कारबाही गर्न माग गरेको छ। रासस