
१६ कात्तिक,
काठमाडौं : ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकलाई कारबाही गर्ने क्रममा आर्थिक प्रलोभनमा पार्न खोज्नेलाई कानूनी दायरामा ल्याउने ३३ ट्राफिक प्रहरी पुरस्कृत भएका छन्।



महानगरीय ट्राफिक प्रहरी महाशाखाले ती ट्राफिक प्रहरीलाई आज एक समारोहका बीच पुरस्कृत गरेको हो। पुरस्कृत हुनेमध्ये २० ट्राफिक प्रहरीलाई नगदसहित वृत्तिविकासमा सहयोग पुग्ने गरी पुरस्कार दिइएको छ।
यस्तो कार्यले अन्य ट्राफिक प्रहरी कर्मचारीमा समेत सकारात्मक उत्प्रेरणा जगाउने, अझ बढी जिम्मेवार तथा कामप्रति उत्तरदायी बनाउने विश्वास महाशाखाले गरेको छ। प्रहरी संगठनले अख्तियार गरेको आर्थिक शून्य सहनशीलतालाई अक्षरशः पालना गर्न विगतदेखि नै महाशाखाले उक्त अभियान चलाएको छ।
प्रलोभनमा पार्न खोज्ने चालकलाई कानूनअनुसार मुद्दा चलाइएको महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए। पुरस्कृत हुने ट्राफिक प्रहरीले ३२ चालकलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याएको उनले बताए।
प्रहरी वरिष्ठ उपरीक्षक भट्टराईले प्रहरी संगठनले अख्तियार गरेको आर्थिक शुद्धीकरणको अभियानलाई थप उचाइमा पु¥याउने जिम्मेवारी निर्वाह गरेकोमा धन्यबाद व्यक्त गर्दै थप सशक्त भई कर्तव्य पालनामा अग्रसर हुन आग्रह गरे।
गत वर्ष प्रलोभनमा पार्न खोज्ने १ सय ६६ सवारी चालकलाई पक्राउ गरी कानूनी दायरामा ल्याउने १ सय १३ प्रहरी कर्मचारीलाई महाशाखाले पुरस्कार एव प्रशंसापत्रद्वारा सम्मान गरेको थियो।
चालु आर्थिक वर्षको ६ महिनामा १ सय ९ चालकलाई पक्राउ गर्ने ८३ ट्राफिक प्रहरीलाई पुरस्कार प्रदान गरिएको महाशाखाले जनाएको छ। थाहाखबरबाट