२ असोज,
धनगढी : बझाङमा एक युवकले आफ्नै हजुरआमाको सुन लुट्न हँसिया प्रहार गरि हत्या गरेका छन् । बझाङस्तिथ दुर्गाथली गाउँपालिका–५ की ८५ वर्षीया रिखीदेवी जप्रेल गएको भदौ २७ गतेदेखि बेपत्ता थिइन्। उनका छोरा सोही वडाका अध्यक्ष रामबहादुरले उक्त कुरा प्रहरीलाई जानकारी दिए।

अध्यक्ष रामबहादुर बस्ने घरदेखि रिखीदेवीको घर करिब १ सय मिटर टाढा रहेको घरमा २३ वर्षीय नाति सुवाससँग बस्दै आएकी थिइन्। वडाअध्यक्ष रामबहादुरले सबै आफन्तकहाँ सोधीखोजी गरिसकेको र घरको तेस्रो तलामा रगतका छिटा फेला पारेको भन्दै प्रहरीलाई जानकारी दिएका थिए। साथै उनले घरको बारीमा खनेको जस्तो आलो माटोसमेत फेला पारेको भन्दै प्रहरीलाई बताए ।

घटनाबारे जानकारी थाहा पाएपछि जिल्ला प्रहरी कार्यालय बझाङको टोली भदौ ३१ गते गाउँमा पुगेको थियो। प्रहरी टोलीले सूक्ष्मरूपमा घटनास्थलको अनुसन्धान गर्दा घरको तेस्रो तलामा घटना घटेको तथ्या फेला पार्यो। साथै हत्यापश्चात् शव तानेर घरको पूर्वतर्फ रहेको बारीमा लगेको प्रमाणसमेत प्रहरीले फेला पारेको थियो।

नभन्दै उक्त आलो माटो भेटिएको ठाउँमा खन्दा रिखीदेवीको शव फेला पर्‍यो। उक्त घटनापछि रामबहादुरका छोरा अर्थात् रिखीदेवीका नाति शुवास बेपत्ता थिए। प्रहरीलाई उनीमाथि नै शंका लाग्यो। मोबाइल लोकेसन हेर्दा सुवासको मोबाइल सोही गाउँपालिकाको वडा नम्बर ७ स्थित लौवादेव डाँडामा देखाइरहेको थियो।

त्यसपछि प्रहरी टोलीले उनलाई त्यहीँबाट समात्यो। जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरीक्षक रुपक खड्काका अनुसार सुवासलाई सोधपुछ गर्दा हजुरआमाले नाक र कानमा लगाएको मुन्द्री लुट्न हत्या गरि स्वीकार गरेको प्रहरीले जनाएको छ।

यस्तो छ अभियुक्तको बयान

‘म र मेरी बज्यै (हजुरआमा)सँगै एउटै घरमा बस्थ्यौं। भदौ २७ गते बिहान ८-९ बजेको समयमा मैले उनलाई हँसिया हानेको थिएँ। हँसिया प्रहारपछि रगताम्य भएकी बज्यैको कानमा रहेका २ र नाकमा रहेको १ गरी ३ वटा मुन्द्री निकालेँ। मेरो कपडामा पनि रगत लागेको थियो। मैलै त्यो कपडा फुकालेर शौचालयमा राखेर बजार गएँ। दिउँसो बजारमा त्यो सुन बेचेर आएपछि साँझ करिब ७ बजेतिर उनको शवलाई घिसार्दै बारीमा लगेँ र खाल्डो खनेर पुरेँ।’

पक्राउपछि सुवासका काका देवराज जप्रेलले उनीविरुद्ध कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता गरेका छन्। प्रहरीले हिजो असोज १ गते नै पत्रकार सम्मेलन गरी घटनाबारे जानकारी गराएको थियो।

सोहीअनुसार अदालतबाट ७ दिन म्याद थप अनुमति लिई घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरीक्षक खड्काले बताए।

स्रोत : थाहाखबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय