२३ भदौ,
बाँके । कोहलपुरबाट सुर्खेत सम्म १३२ केभी प्रसारण लाइन विस्तारका लागि १३ हजार ११९ रुख कटान गरिने भएको छ । रुख कटानका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लैजान फाइल तयार भइसकेका आयोजनाका प्रमुख रविकुमार चौधरीले जनाएका छन् ।
प्रमुख चौधरीका अनुसार, विभागीय मन्त्री नहुँदा काममा ढिलाइ भएको जनाउँदै मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेपछि रुख कटानका लागि बोलपत्र आह्वान, जग्गाको मुआब्जालगायत प्रक्रिया शुरु गरिने बताएका छन् । उनले भने, “रुख कटानमा जति ढिलाइ भयो, त्यति नै प्रसारण लाइन विस्तारमा समय लाग्छ ।” रुख कटानमा ढिलाइ हुँदा जग्गाको मुआब्जा वितरणदेखि प्रसारण लाइन निर्माणको काम प्रभावित हुने चौधरी बताउँछन् ।
नेपाल विद्युत् प्राधिकरणको ३६ औँ वार्षिकोत्सवका अवसरमा आयोजनाले कोहलपुरबाट प्रसारण गरिने लाइनको टावर बाँकेका कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिका, बर्दियाका बाँसगढी नगरपालिका तथा सुर्खेतका भेरीगङ्गा, लेकबेँसी र वीरेन्द्रनगर नगरपालिका प्रभावित हुने बताए ।
यद्यपी कोहलपुर देखि सुर्खेत सम्मका लागि प्रसारण गरिने लाइन अधिकांश क्षेत्र बाँके राष्ट्रिय निकुञ्ज र बर्दिया राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्र ७० दशमलव ५४५ भाग वन क्षेत्र, १५ दशमलव १३५ खेतीयोग्य, दुई दशमलव २६५ बाँझो जमिन तथा ११ दशमलव ६५ अन्य भागका रुखहरु कटान गरिने आयोजनाका प्रमुख रविकुमार चौधरीले बागेश्वरी खबरलाई जानकारी दिएका छन् ।