२१ भदौ,
त्रिभुवन विमानस्थलको सुरक्षा घेरा पार गरी हवाई मार्गमार्फत चार किलो सुन नेपालगञ्ज विमानस्थलमा पुर्‍याएपछि काठमाडौं विमानस्थलमा चेकजाँचमा कडाइ गरिएको छ।

गत शुक्रबार काठमाडौं विमानस्थलबाट जहाज चढेर नेपालगञ्ज ओर्लिएका अमिर लगुन विश्वकर्मा र बुद्धिमान खातीको साथबाट चार किलो सुन बरामद भएको थियो । यो घटनाको अनुसन्धान गर्न नेपाल प्रहरीले छानविन समिति नै बनाएको छ । सो सुन काण्डपछि भने आन्तरिक टर्मिनलमा नेपाल प्रहरीले सुरक्षा जाँच बढाएको हो । तर, टर्मिनलमा पर्याप्त सुरक्षा उपकरण नहुँदा यात्रुलाई भने सास्ती थपिएको छ ।

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार सुरक्षा चेकजाँचमा कडाइ गरिएका कारण आन्तरिक टर्मिनलमा साविकको तुलनामा बढी समय लाग्न थालेको बताए । सोही कारण सोमबार निर्धारित समयभन्दा जहाजहरु एकदेखि डेढ घण्टासम्म ढिलो गरी उडेको वायुसेवा कम्पनीहरुले जानकारी दिएका छन् ।

यात्रुलाई डेढ घण्टा छिटो विमानस्थल आउन अनुरोध

प्रहरीले सुरक्षा जाँच कडा गरेपछि एयरलाइन्स कम्पनीहरुले समेत यात्रुलाई छिटो विमानस्थल पुग्न सचेत गराएका छन् ।

यसअघि आधा देखि एक घण्टाको अवधिमा चेकइन प्रक्रिया पुरा हुने गरेकोमा प्रहरीले गरेको कडाइका कारण समय थप भएको छ । यसबाट छिटो उडान गर्न सहज हुने कमपनीको भनाइ छ ।

बुद्ध एयरले समेत सोमबार यस्तै सुचना जारी गरेको छ । बुद्धले डेढ घण्टा अगाडि नै आएर चेकइन प्रक्रिया थाल्न भनेको छ । कम्पनीले मौसम र प्राविधिक कारणबाहेक अन्य प्रतिकुलताले यात्रुको उडान ढिला नहोस् भन्नेमा कम्पनी सचेत रहेको बताएको छ ।

उपकरण अभावले चेकजाँचमा ढिलाइ

आन्तरिक टर्मिनलमा यात्रुको झोलासहितका सामान चेकजाँच गर्न एक्सरे मेसिन राखिएको छ । यात्रुलाई भने प्रहरीले शरीर नै छामछुम गरी चेकजाँच गर्छन् । म्यानुअल रुपमा हुने चेकजाँचमा एकातर्फ समय बढी लाग्ने गर्छ भने सुरक्षा त्रुटी समेत हुने गर्छ । सोमबार विमानस्थलको एउटा सुरक्षा एक्सरे मेसिनमा समस्या आएका कारण धेरै मानिस बाहिरै रोकिनु परेको थियो ।

बढ्यो हवाई यात्रुको चाप

पछिल्लो समय देशभरको सडक यातायात प्रभावित छ । यसले हवाई यातायातमा भने यात्रुको चाप ह्वात्तै बढेको छ । बुद्ध एयर एक्लैले आइतबार कुल १४० उडान/अवतरण गरेको छ । यो उडान अवतरणबाट कुल ८ हजार भन्दा बढी यात्रुले सेवा लिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय