१७ भदौ,
घोराही । दाङमा खोलाले गाडी बगाउँदा चार जनाको मृत्यु भएको छ भने गाडि चालक एक गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा, दाङस्थित घोराही उपमहानगरपालिका १३ की ३२ वर्षीया शुसिला श्रेष्ठ र ४० वर्षीया रितामाया पुन तथा घोराही-१४ का २९ वर्षीया राधा कुँवर र ४० वर्षीया विमला केसी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्द प्रसाद रिजालले जानकारी दिएका छन् ।
रिजालका अनुसार, नेपालगञ्जबाट दाङ घोराहीतर्फ आउँदै गरेको प्रदेश ३-०१-२४ च ४४४० नं. को कारलाई घोराही उपमहानगरपालिका-४ गोग्लीस्थित सिस्ने खोलाको बाढीले बगाउँँदा कारमा सवार रहेका चार जनाको मृत्यु भएको बताए ।
विमला र रिताको शव घटनास्थलदेखि तीन किलोमिटर टाढा आज बिहान सवा ६ बजेतिर फेला परेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा कार चालक घोराही उपमहानगरपालिका वडा नं. १५ निवासी ४३ वर्षीय नरबहादुर पुन गम्भीर घाइते छन् । पुनको खुट्टा समेत भाँचिएको छ । उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ ।
उनलाई बगाएको स्थानदेखि करिब डेढ किलोमिटर टाढा घोराही–१७ बेलभारको नयाँवस्तीमा फेला पारेर उद्धार गरेको प्रहरीले जनाएको छ ।