
१३ भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहित केही नेताले अर्को पार्टी गठन गर्दैमा केही फरक नपर्ने बताएका छन् ।
ललितपुरको महालक्ष्मी नगरपालिकामा शनिबार युथफोर्सले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले भने, ‘एक–दुई पात खस्दैमा पिर मानेर रुख ढल्दैन । एकदुइटा पात पहेँलिएर झर्छन्, अर्को टुसो आउँछ । अहिले हेर्नुस् त कमिटीहरुको टुसा पलाएको । नयाँ नयाँ पालुवा पलाउँदैछन्, नयाँ नयाँ हाँगा हाल्दैछन् ।’



एमाले फुटेको नभई केही बिग्रिएका मान्छेले पार्टी छाडेको भन्दै ओलीले अघि भने, ‘केही मान्छे पतीत भएका हुन्, बिग्रिएका हुन् । बिग्रिएका मान्छेले पार्टी छोडेका हुन् ।’
लामो समयसम्म मुध र कैटबलेझैँ दुःख दिएका नेताहरुले अस्तिका दिन (९ भदौमा) दल दर्ताको पूर्जा लिएको भन्दै उनले भने, ‘कस्तो वुद्धि होला ? यत्रो महासागर जत्रो पार्टी निर्माण भएको छ, पौडी खेल्न पुगेन भनेर खाल्टो खन्न पुगे ।’
आफूहरुले सम्झाउन खोजे पनि पार नलागेको ओलीले बताए । मैले २० औं पल्ट फोन गरेँ, आठ पल्ट जहाँजहाँ भन्यो, त्यही गएर भेटेँ, सम्झाएँ’ उनले भने, ‘मैले सम्झाउँदा दुनियाँ सम्झिन्छ, एक दुई जना मान्छे पानी समातेर कसम खान्छ, तिम्रो कुरा सुन्दिनँ, तिमीले सम्झाएको बुझ्दिनँ । धरोधर्म मान्दिन भन्छ ।’
एक सिट पनि दिनु हुन्न
नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले अरु पार्टीसँग मोर्चाबन्दी गर्ने सुनेको भन्दै ओलीले एमालेसँग एक्लै लड्न सक्दिन भन्ने सबैले बुझेको बताए ।
त्यही कारण मिलेर लड्ने भनेको भन्दै उनले भने, ‘एकएक दर्जनका १० वटा पार्टी मिले भने कति हुन्छ ? दश दर्जन नै त भयो होला । १२० जनाको मोर्चा कसेर एमालेसँग लड्ने ?’
ओलीले अघि भने, ‘माधव नेपालले कति ? निकालिएका समेत जोड्दा, दोहोरिएका समेत जोड्दा ५५ (केन्द्रीय सदस्य) र २९ (संघीय सांसद) । त्यति मिलेर एमालेसँग लड्ने अरे ! उहाँहरु कुरामा लड्न सक्नुहुन्छ, मैदानमा होइन ।’
एमाले ढोडको लौरा समातेर जंघार तर्ने पार्टी नभएको उनले बताए । ‘ढोडका लौरा समातेर कोशी, गण्डकी तरिन्छ भन्ने ठान्दैन, योसँग पौडिएर तर्ने क्षमता छ,’ ओलीले भने, ‘यो पार्टी देशको नेता हो । अहिले जालझेलबाट सरकारबाट हटाइएको छ । चुनाव त आओस्, नेकपा एमालेले यो सबैको थोकमा जवाफ दिनुपर्छ ।’
उनले अघि भने, ‘महालक्ष्मी नगरपालिकाले एउटा सदस्य पनि चिप्ल्याएर लैजान नपाओस् । किन दिने अरुलाई, जोसँग दृष्टिकोण छैन । चारतिर फर्किएका छन्, खान मात्र जानेका छन्’ यस प्रदेशमा एउटा पनि दिनुहुन्न । संघीय निर्वाचनमा एमालेले जित्नुपर्छ ।’
कसले टिकट पाउँछ भन्ने अहिले भन्न नसकिने, तर पार्टीबाट जो उठ्छ, उसले जित्नुपर्ने एमाले अध्यक्ष ओलीले बताएका छन् । उनले भने, ‘अरु सबैको जोड्दा कम्मर कम्मर मात्र हुनुपर्छ, नेकपा एमालेले सर्लक्क माथि हुनुपर्छ । प्रतिस्पर्धी हुन्छन्, तर प्रतिस्पर्धा हुँदैन ।’
माधव नेपालको चर्को आलोचना
ओलीले एमाले विभाजन गरेर अर्को पार्टी बनाएका माधवकुमार नेपालको चर्को आलोचना गरे । नेतातर्फ संकेत गर्दै म भन्ने अहंकार बोकेको अर्को नेता आफूले दुनियाँमा नदेखेको बताए ।
म कार्यकर्ता होइन, म नेता भन्ने अभिव्यक्ति सुन्दासुन्दा कान टट्टाएको भन्दै उनले भने, ‘हामी ठूलो पार्टी हो, हाम्रो पार्टीको कुनै पनि कार्यकर्ताले म भन्ने अहंकार हुनुहुन्न । यसले खरानी बनाउँछ, यत्रो पार्टीबाट टुक्र्याएर पूर्जा लिने ठाउँमा पुर्याउँछ ।’