काठमाडौं : नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकमा सोमबार नियुक्त भएका कुलमान घिसिङको आज अपरान्ह पदबहाली हुने भएको छ । उनी अपरान्ह पदबहालीका लागि तयारी अवस्थामा रहेको बुझिएको छ ।
मन्त्रिपरिषद्को बैठकले घिसिङलाई प्राधिकरणको प्रबन्ध निर्देशकमा नियुक्त गरेको थियो । प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यलाई जल शक्ति आयोगमा लगिएको बुझिएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको ठाडो निर्देशनमा घिसिङले नियुक्त पाएका हुन् । उनी यसअघि पनि प्राधिकरणको प्रबन्धक निर्देशक थिए । तर, केपी शर्मा ओली नेतृत्वको सरकारले उनको समयावधि थप्न मानेन ।
घिसिङलाई प्राधिकरणमा ल्याउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि इच्छा देखाएका थिए । घिसिङ प्राधिकरणमा सफल कार्यकाल पूरा गरी गएका थिए । उनी निकै लोकप्रीय छन् ।
२०७३ भदौ २९ को मन्त्रिपरिषद् निर्णयबाट प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त घिसिङलाई लोडसेडिङ अन्त्य गरेको र वर्षौंदेखि घाटामा गएको संस्थालाई नाफामा लगेको श्रेय जान्छ ।दैनिक १८ घण्टासम्म लोडसेडिङ भइरहेको अवस्थामा कार्यकारी निर्देशकमा नियुक्त भएका घिसिङले आफ्नो कार्यकालको पहिलो वर्षमै उपत्यकामा लोडसेडिङ अन्त्यको व्यवस्थापन गरेका थिए ।
२०७५ वैशाखदेखि देश लोडसेडिङमुक्त भएको घोषणा गरिएको थियो । घिसिङ नियुक्त हुँदा प्राधिकरणको सञ्चिति घाटा करिब ३५ अर्ब रुपैयाँ थियो । घिसिङको कार्यकालको अन्तिम वर्षमा प्राधिकरणको मुनाफा करिब १२ अर्ब पुगेको थियो । र प्राधिकरण सबैभन्दा बढी नाफा कमाउने सरकारी संस्थान बनेको थियो । विद्युत् चुहावट नियन्त्रणमा पनि उल्लेख्य सफलता हात पारेको जस घिसिङले पाएका थिए । २६ प्रतिशत विद्युत् चुहावटको अवस्थालाई घिसिङले चार वर्षमा १५ प्रतिशतमा झारेका थिए ।