२६ फागुन,
गुल्मी : गुल्मीको रेसुंगा नगरपालिकाले २०७८ सालको एसइईमा नगरभित्रका विद्यालयबाट ३.२ जिपिएभन्दा माथि ल्याउने ९६ जना विद्यार्थीलाई सम्मान तथा चेक हस्तान्तरण कार्यक्रम गरेको छ।
उक्त नगरपालिका अनुसार एसईईमा ३.२ जिपिएभन्दा माथि ल्याई कक्षा ११ मा अध्ययन गर्ने ९६ विद्यार्थीलाई मासिक चार हजारका दरले सम्मान गर्दै चेक हस्तान्तरण गरिएको नगरपालिकाले जनाएको छ।
रेसुंगा नगरपालिकाको नीति तथा कार्यक्रमअन्तर्गत कार्यविधि निर्माण गरी कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीलाई प्रोत्साहन गर्न र नगरभित्र विद्यार्थी टिकाइराख्न आफूहरूले यस्तो नीति लिएको नगरप्रमुख खिलध्वज पन्थीले जानकारी दिए।
यस कार्यक्रमले पछिल्लो समयमा बसाइँसराइँ दर पनि कम गर्न सक्ने र विद्यालयमा विद्यार्थीहरूको संख्या पनि नघट्ने विश्वास नगरले लिएको छ।
नगरप्रमुख पन्थीले नगरपालिकाभित्रका विद्यार्थीलाई नगरभित्रै टिकाइराख्न र गुणस्तरीय शिक्षा प्रदान गर्न नगरले प्रयास गरिरहेको दाबी गरेका छन्।