
१५ भदौ,
विद्यार्थीहरुले विद्यालयमा १७ महिना भयो, पाइला राखेका छैनन् । केही स्थानका केही विद्यालयमा छोटो समय पठनपाठन सुचारु भए पनि देशका अधिकांश भागका विद्यालय नखुलेको १७ महिना भयो । पहिले खुलेका अधिकांश विद्यालय पनि यतिबेला बन्द अवस्थामा छन् । तर, अब विस्तारै विद्यालयहरु खोल्ने तयारी शुरु भएको छ । विज्ञहरुले पनि विद्यालय खोल्न सुझाव दिएका छन् ।



शहरी क्षेत्रका विद्यालय र शहरी क्षेत्रमा बस्ने विद्यार्थीहरुले जेनतेन अनलाइन कक्षा सञ्चालन गरेको भए पनि ग्रामीण क्षेत्रमा बस्ने अधिकांशको पहुँचमा पुगेको छैन अनलाइन कक्षा । किनभने, कम्तीमा २ सन्तानका लागि ल्यापटप वा मोबाइल, मोबाइल डाटा वा इन्टरनेटको आवश्यकता पूरा गर्न सक्ने हैसियत सबै अभिभावकसँग छैन । त्यसबाहेक ग्रामीण भूभागका कतिपय स्थानमा मोबाइलको नेटवर्कसम्म छैन भने इन्टरनेटको पहुँच त अझै टाढाको विषय भयो । त्यसकारण पनि १७ महिनाको अवधिमा विद्यार्थीको सिकाई उपलब्धी खस्किएको छ ।
कोभिड–१९ रोगका कारण २०७६ सालको चैत महिनादेखि विद्यालय सञ्चालनमा आएका छैनन् । विद्यालय बन्द भएको करिब ३ महिनापछि केही विद्यालयमा अनलाइन विधिबाट पठनपाठन सुचारु भएको भए पनि अहिलेसम्म पनि कैयन् विद्यार्थीले अनलाइन कक्षा लिन पाएका छैनन् भने कैयन् शिक्षक र विद्यार्थीलाई अनलाइन कक्षाबारे जानकारीसम्म छैन ।
कोरोनाको डरका कारण केही सरकारी शिक्षकले त घरमै बसीबसी आरामसँग तलब खाइरहेका छन् । केही सरकारी विद्यालयले सम्भव भएसम्म भौतिकरुपमै पठनपाठन गरिरहेका छन् भने केही विद्यालयले रेडियो, स्थानीय टेलिभिजन आदिका माध्यमबाट पनि पठनपाठनलाई निरन्तरता दिइरहेका छन् ।
तर, भौतिकरुपमै विद्यालय सञ्चालनमा नआएसम्म विद्यार्थीको सिकाइमा एकरुपता आउन नसक्ने र सिकाई उपलब्धीमा धेरै नै फरक पर्ने शिक्षाविद्हरुको भनाइ छ । शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइराला भन्छन्, ‘सिकाइ उपलब्धीमा कत्तिको अन्तर पर्यो भन्ने कुरा त अहिले कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुको क्षमता हेर्दा भइहाल्छ नि ।’
हो, भौतिकरुपमै विद्यालय खुल्दा र नखुल्दाको परिणाम त धेरै नै छन् । भौतिकरुपमै विद्यालय गएर पढ्ने विद्यार्थी, शहरमा स्रोत साधन र इन्टरनेटको राम्रो पहुँच लिएर पढ्ने विद्यार्थी, ग्रामीणस्तरमा सामान्य मोबाइल डाटाको आधारमा अध्ययन गर्ने विद्यार्थी र इन्टरनेटको पहुँच नै नभई अध्ययन गर्ने विद्यार्थीको सिकाइ उपलब्धी एउटै हुन्छ भन्न सकिने अवस्था छैन । त्यसकारण पनि भौतिकरुपमै विद्यालय सञ्चालन गरेर पठनपाठन सुचारु गर्नुपर्छ भन्ने आवाज बढ्न थालेको छ । तर, विद्यालय खुल्छचाहिँ कहिले त ?
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)ले पनि करिब ३ साताअघि शिक्षा सचिवलाई भेटेर भौतिकरुपमै विद्यालय खोल्ने व्यवस्था गरिदिन आग्रह गरेका थिए । उनीहरुले निवेदन नै दिएर शिक्षा सचिव र स्वास्थ्य राज्यमन्त्रीलाई विद्यालय सञ्चालनको व्यवस्था गरिदिन आग्रह गरेका थिए ।
जवाफमा स्वास्थ्य राज्यमन्त्री र शिक्षा सचिवले स्वास्थ्य मापदण्डको पालना गर्नेगरी विद्यालय सञ्चालनको अनुमति स्थानीय तहलाई नै दिएको भन्दै स्थानीय तहबाटै अनुमति लिएर विद्यालय सञ्चालन गर्न भनेको प्याब्सनका अध्यक्ष टिकाराम पुरीले बताए ।
प्याब्सनका अध्यक्ष पुरीका अनुसार विद्यालय सञ्चालन सम्बन्धी कार्याढाँचा, २०७७ अनुसार स्वास्थ्य मापदण्डको पालना गरेर विद्यालय सञ्चालनमा ल्याउनैपर्ने अवस्था आएको बताउँछन् । त्यसैका लागि कोरोना संक्रमणको जोखिम कम भएको स्थानीय तहमा भदौ १५ गतेदेखि नै र पूर्वाधार तयार गर्नुपर्ने अन्य स्थानीय तहहरुमा ढिलोमा असोज १ गतेदेखि विद्यालय सञ्चालनका लागि काम भइरहेको बताउँछन् ।
‘विद्यालय बन्द गरेरै कोरोना नियन्त्रण हुँदैन’
सरुवारोग विशेषज्ञ मरासिनी विद्यालय बन्द गर्दैमा कोरोना नियन्त्रण सम्भव नहुने बताउँछन् । उनी भन्छन्, ‘स्वास्थ्य मन्त्रालयले बिनाप्रमाणका आधारमा विद्यालयबाट कोरोना संक्रमण फैलियो भनेर विगतमा भन्यो । महामारीमा संक्रमणको जोखिम छ । तर, शिक्षा मन्त्रालयले विद्यालयमा परीक्षणको व्यवस्था गर्ने, जनस्वास्थ्यका मापदण्ड पालना, कति दिन कक्षामा उपस्थित हुने कति दिन अनलाइन कक्षामा सहभागी हुने निक्र्योल गरिदिनुपथ्र्यो । दैनिक भिडभाड हुने ठाउँमा सरकारले वेवास्ता गर्ने तर विद्यालय बन्द गराउने काम गरियो ।
डा. मरासिनी अगाडि भन्छन्, ‘कोरोना महामारी कहिलेसम्म रहन्छ, कसैलाई थाहा छैन । कोरोनाको जोखिम हुन्जेल बालबालिकालाई स्कुल नपठाइन घरमै सीमित राख्ने भन्ने कुरा हुँदैन । त्यसैले शिक्षा मन्त्रालय आफैले बेलाबेलामा कोरोना परीक्षणको व्यवस्ता गर्ने, जनस्वास्थ्यको पूर्णरुपमा पालना गराउने, सबै विद्यार्थीलाई एकैपटक विद्यालय नबोलाएर पालोका आधारमा कक्षा सञ्चालन गर्न सकिन्छ ।