१६ चैत,
नेपालमा सरकारी स्वामित्वको नेपाल टेलिकमले फाइभजी परीक्षणको अनुमति पाएको १६ महिना बितिसक्दा पनि अहिलेसम्म अलमल परेको छ । विश्वभरि नै अहिले फाइभजीको योजना निर्माण, लाइसेन्स प्राप्ति, नेटवर्क डिप्लोयमेन्ट, ट्रायल र लञ्चमा लगानी हुँदैछ।

२०७८ मंसिरमा अनुमति पाएको नेपाल टेलिकमले अझै फाइभजी सेवा सर्वसाधारणको पहुँचमा ल्याएको छैन । गत १७ पुस र २२ माघ गरी २ पटक भाका सारेको टेलिकमले परीक्षणका लागि सार्वजनिक रुपमा फाइभजी सेवा थाल्न ढिलाइ गर्दा प्रतिक्षारत सेवाग्राही निराशमा परेका छन् ।

सरकारी कम्पनीको यस्तो अलमलले निजी सेवा प्रदायकहरुलाई फाइभजी सेवा थाल्ने अनुमति दिन नेपाल दूरसञ्चार प्राधिकरणलाई समस्या भएको छ। निजी सेवा प्रदायक एनसेलले त प्राधिकरणमाथि सार्वजनिक रुपमा अन्याय गरेको आरोप नै लगाइसकेको छ ।

प्राधिकरणले टेलिकमलाई फाइभजी परीक्षणका लागि २६ मेगाहर्ज ब्यान्डमा ६० मेगाहर्ज फ्रिक्वेन्सी दिएको छ । सुरुमा उपकारण र प्रविधि आयातकर्तासँग वार्ता र सामान आपूर्ति गर्न नै टेलिकमले ढिलाइ गरेको थियो । आएका समान जडान गरेर प्रविधि सार्वजनिक परीक्षण थाल्न पनि अझै सकेको छैन ।

चिनियाँ कम्पनीमार्फत तयारी सकेर परीक्षण गर्न लागिएकाले फाइभजीमा अमेरिकी चासो भएकाले पनि रोकिएको चर्चा छ । तर, टेलिकमले भने अरू नै कारणहरू देखाइरहेको छ ।

टेलिकमका अनुसार टेलिकममा फाइभजीको रेडियो एक्सेस नेटर्वक (र्‍यान) र ‘कोर’तर्फको आपूर्तिकर्ता फरक छन् । दुवैलाई आपसमा जोड्न पनि टेलिकमले सकस भोगेको थियो ।

अझ फाइभजी सपोर्ट गर्ने मोबाइल डिभाइसको इकोस्टिम तयार गर्न पनि लाग्नु परिरहेको टेलिकमको भनाइ छ । फाइभजी चल्ने डिभाइसमा टेलिकमको फाइभजी सपोर्ट गर्ने बनाउन समय लिनु परेको कम्पनीको दाबी छ । टेलिकमका उपप्रवन्ध सुजित आनन्द मल्लले डिभाइसका कारण परेको समस्याबारे एक सार्वजनिक कार्यक्रममा खुलासा गरेका थिए ।

‘मोबाइल निर्माताहरूले फाइभजी सपोर्ट गर्ने डिभाइस बनाएपनि नेटवर्क अपरेटरको सिस्टम कस्तो छ भन्ने कुरा नबुझिकन त्यसमा फाइभजी खोल्दैनन् । अर्थात् फाइभजी चल्ने सबै कुरा तयारी अवस्थामा राखेर पठाउँदैनन्,’ उनले भनेका थिए, ‘फोरजी र फाइभजीमा विशेष परीक्षण गर्न अहिले आइफोनसँग वार्ता भइरहेको छ ।’

एप्पलले सम्बन्धित मोबाइल सेवाप्रदायकले राम्रो गुणस्तरको नेटवर्क दिएको सुनिश्चितता गरेपछि मात्रै आफ्ना सेटहरूमा फाइभजी चल्न सक्ने बनाइदिने गरेको मल्ल बताउँछन् । कमसल नेटवर्कका कारण ब्रान्डको साख नघटोस् भनेर यस्तो गर्ने गरिएको हो ।

मल्लका अनुसार, भारतमै पनि ४ महिना लागेको यस्ता प्रक्रियाले नेपालमा फाइभजी परीक्षण ढिलो हुन गएको हो । सामसङ, ओप्पो, लगायतमा पनि परीक्षण भइरहेको उनको दाबी छ ।

नेपालमा उपलब्धमध्ये साओमीको पोको मोडलको फोनमा फाइभजी चल्न सक्ने देखिएको छ । सबै डिभाइसमा परीक्षण सकिएपछि सर्वसाधारणमा फाइभजी सुरु गर्ने योजना रहेको टेलिकमको भनाइ छ ।

‘फाइभजीका लागि बेस स्टेसनहरू करिब करिब तयारीमा अवस्थामा छन् । मुख्य गरेर फाइभजी सपोर्ट गर्ने डिभाइसहरू छैनन्,’ उपप्रबन्धक मल्ल भन्छन्, ‘डिभाइस नहुँदाको अवस्थामा सर्वसाधारणले समेत चलाउन पाउने गरी फाइभजी सुरु गर्ने हो भने भोलि हामीले नै गाली खान्छौं । तर हाम्रो कारण भन्दा पनि नेटवर्क सपोर्ट गर्ने डिभाइस नहुँदा परीक्षणमा ढिलाइ हुन पुग्यो ।’

पूरा तयारी सकेर परिपक्व अवस्थामै सेवा थाल्नुपर्ने भएकाले टेलिकम सही समयको पर्खाइमा रहेको उनी बताउँछन् ।

दूरसञ्चारविज्ञ आनन्दराज खनाल सन् २०२३ सम्म विश्वभर एक अर्बभन्दा बढी फाइभजी कनेक्सन हुने अनुमान गरिएको बताउँछन् । २०२० देखि २०२५ बीचमा पाँच अर्बभन्दा बढी फाइभजी फोन बजारमा आउने र २०३५ सम्म फाइभजीले विश्वव्यापी बिक्रीका गतिविधि १३१ खर्ब अमेरिकी डलरले बढाउने अनुसन्धानले देखाएको उनले बताए ।

खनालका अनुसार, विश्वभर २२५ भन्दा बढी कम्पनीले फाइभजी डिभाइस उत्पादनको घोषणा गरेका छन् । अहिले ८५० भन्दा बढी मोडेलका फोन बजारमा व्यवसायिक रुपमा नै उपलब्ध भइसकेका छन् ।

‘जनवरी २०२२ यता यस्ता डिभाइसहरूको संख्या उच्च रुपमा बढेको छ,’ खनाल भन्छन्, ‘फाइभजी चल्ने ह्यान्डसेटको इकोसिस्टम पनि सुधारिंदै गएको छ ।’

सवाल फाइभजी परीक्षण गर्ने मात्रै छैन, कहिलेदेखि व्यावसायिक रुपमा फाइभजी सेवा सुरु गर्ने भन्ने पनि छ । दूरसञ्चार विज्ञहरु नेपालले तुरुन्तै फाइभजीमा लगानी गरेर ठूलो प्रतिफाल हात पार्न सक्ने अवस्था देख्दैनन् ।

फाइभजीमा ठूलो लगानी गर्नुअघि फोरजी परियोजनाको समीक्षा गर्नुपर्ने दूरसञ्चार विज्ञ खनाल बताउँछन् । टेलिकमको फोरजी एलटीई नेटवर्कको कूल क्षमता उपयोग करिब २५ प्रतिशत मात्र रहेको सुनिएको भन्दै उनले फाइभजीमा लगानी गर्नुअघि यस्ता पक्षको समीक्षा आवश्यक रहेको बताए ।

‘फोरजी नै राम्रोसँग नचलेको अवस्थामा फाइभजीमा जानु भनेको हतारो मात्रै हो’ उनी भन्छन् ।

फोरजीको तुलनामा ठूलो लगानी हुने भएकाले प्रतिफलको पक्ष हेरेर मात्रै यसमा लगानी गर्नुपर्ने अवस्था रहेको मल्ल स्वीकार्छन् ।

‘क्षमता र प्रविधिअनुसार फोरजीको भन्दा फाइभजी धेरै उन्नत भएकोले यसमा लगानी पनि बढी हुन्छ । प्रतिफल सुनिश्चित भएपछि मात्रै लगानी गर्नुपर्छ,’ उपप्रबन्धक मल्ल भन्छन्, ‘सुरुमा फाइभजीमा प्रयोगकर्ता धेरै नहुने भएकाले विस्तारै फोरजीबाट जाँदा ठूलो लगानी घटाउन सकिन्छ ।’ यो खबर आजको अनलाईन खबर मा प्रकाशित गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय